काठमाडौं, २८ माघ । आज मंगलबारदेखि विद्युतीय माध्यमबाट खरिद रकम भुक्तानी गरे भुक्तानी गरेको १० प्रतिशत रकम फिर्ता हुने व्यवस्था कार्यान्वयन हुँदैछ । यसको अर्थ १० हजार रुपैयाँको खरिदमा तिर्नुपर्ने १३ सय रुपैयाँ मूअ करमध्ये १ सय ३० रुपैयाँ भुक्तानीकर्ताको बैंक खातामा फिर्ता हुने भएको हो । आन्तरिक राजस्व विभागले यसअघि नै विद्युतीय माध्यमबाट भुक्तानी गर्ने उपभोक्तालाई मूल्य अभिवृद्धि कर फिर्ता दिने सम्बन्धी कार्यप्रक्रिया, २०७६’ जारी गरिसकको छ ।
आन्तरिक राजस्व विभागका अनुसार मंगलबारदेखि विद्युतीय माध्यमबाट भुक्तानी गर्दा भ्याट रकमको १० प्रतिशत बैंक खातामार्फत् फिर्ता हुनेछ । प्रणालीको उद्घाटन अथृमन्त्री डा। युवराज खतिवडाले गर्दैछन् । यसका लागि प्रणालीमा जोडिएका कम्पनीमार्फत् मात्रै कारोबार गरेको हुनुपर्छ । उपभोक्ताले कर रकमको १० प्रतिशत फिर्ता पाउने व्यवस्था कार्यप्रक्रियामा छ ।
आन्तरिक राजस्व विभागका उपमहानिर्देशक मुक्ति पाण्डेका अनुसार विद्युतीय बिलिङको अनुमति लिएका कम्पनीमार्फत् भ्याट तिरेमात्र तिरेको रकमको १० प्रतिशत फिर्ता हुन्छ । उनीहरु विद्युतीय भुक्तानी उपकरण सेवाप्रदायकसँग समेत आवद्ध हुनुपर्ने पाण्डेले सुनाए । पाण्डेले भने, “कम्प्युटरबाट बिल जारी गर्ने पसलबाट मात्र यो सुविधा प्राप्त हुन्छ ।” तर, सो कम्पनी विभागको प्रणालीमा आवद्ध भएको हुनुपर्ने व्यवस्था छ ।
उपभोक्ताले पनि डिजिटल भुक्तानी गरे कर फिर्ता पाउनेछन् । उनले भने, “भ्याट फिर्ता नगद कारोबारमा मान्य हुने छैन ।”उनका अनुसार कम्पनी र उपभोक्ताले भुक्तानी गर्न प्रयोग गरेको कार्ड एउटै नेटवर्कको हुनुपर्छ ।
उदाहरणका लागि कम्पनी पसलको कार्ड नेटवर्क भिसा छ भने भिसा कार्ड प्रयोगकर्ताले मात्र आफ्नो खातामा भ्याट फिर्ता पाउनेछन् ।हालसम्म ३ वटा बैंकमात्र यस प्रणालीमा आवद्ध भएको देखिएको उपमहानिर्देशक पाण्डेको भनाइ छ ।
उनले भने, “अन्य बैंक, वित्तीय संस्था तथा भुक्तानी प्रदायक संस्था पनि आवेदनको प्रक्रियामा छन् तर सिस्टमले ३ वटाले अनुमति पाएको देखाउँछ ।”थप कम्पनी पनि सबै मापदण्ड पूरा गरी दर्ताका प्रक्रियामा रहेको उनले सुनाए ।न्यूनतम १ हजार रुपैयाँदेखि अधिकतम १ लाख रुपैयाँसम्म विद्युतीय माध्यमबाट भुक्तानी गर्दा भ्याट रकमको १० प्रतिशत फिर्ता हुने कार्यप्रक्रियामा उल्लेख छ ।
सरकारले बजेटमार्फत् नै विद्युतीय माध्यमबाट भुक्तानी बढाउनका लागि १० प्रतिशत भ्याट फिर्ता दिने घोषणा गरेको थियो । डेढ महिनाअघि नै बनेको कार्यप्रक्रियामा विद्युतीय माध्यमबाट भुक्तानी गर्नका लागि नगद प्रोत्साहन दिन यो व्यवस्था गरिएको उल्लेख छ । विक्रेताले कर लाग्ने वस्तु वा सेवा आपूर्ति गर्दा नियमावलीमा उल्लिखित कर बीजकको ढाँचामा विद्युतीय बीजक सिर्जना गर्नु पर्नेछ । उपभोक्ताले कर लाग्ने वस्तु वा सेवा खरिद गर्दा विद्युतीय भुक्तानी सम्बन्धी उपकरणका माध्यमबाट भुक्तानी गर्ने तरिका छनौट गर्नु पर्नेछ ।
उपभोक्ताले विद्युतीय भुक्तानी सम्बन्धी उपकरणका माध्यमबाट विक्रेतालाई भुक्तानी गरेपछि कर बीजकमा उल्लिखित विवरणका अतिरिक्त उपभोक्ताले तिर्ने मूल्य अभिवृद्धि करको दश प्रतिशतले हुने रकम समेत देखिने गरी विक्रेताले विद्युतीय बीजक जारी गर्नु पर्नेछ । उपभोक्ताले विद्युतीय भुक्तानी सम्बन्धी उपकरणका माध्यमबाट विक्रेताको बैंक खातामा भुक्तानी गरी सकेपछि भुक्तानी भएको कर रकमको दश प्रतिशतले हुने रकम एक रुपैयाँले पूर्ण भाग जाने रकम स्वचालित रुपमा विक्रेताको बैंक खाताबाट उपभोक्ताको बैंक खातामा फिर्ता गर्नु पर्नेछ ।
कार्यप्रक्रियाका अनुसार उपभोक्ताले विधुतीय माध्यमवाट भुक्तानी गरेको कर तथा विक्रेताले उपभोक्ताको बैंक खातामा फिर्ता गरेको कर रकमको विवरण विभागको एकीकृत कर प्रणालीमा स्वचालितरुपले प्राप्त हुनेछ । उपभोक्तालाई फिर्ता गरेको कर रकम विक्रेताले कर विवरण मार्फत हिसाब मिलान गर्नु पर्ने व्यवस्था कार्यप्रक्रियामा छ ।
उपभोक्ताले मूल्य अभिवृद्धि करमा दर्ता भई विद्युतीय बीजक जारी गर्ने विक्रेताबाट कर लाग्ने वस्तु वा सेवा खरिद गर्नु पर्नेछ । कर रकम फिर्ता प्राप्त गर्नको लागि उपभोक्ताको खाताबाट विक्रेताको खातामा र विक्रेताको खाताबाट उपभोक्ताको खातामा रकम स्वचालित रुपमा आदान प्रदान हुने गरी नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी प्रणाली सञ्चालक वा भुक्तानी सेवा प्रदायकमार्फत् विद्युतीय भुक्तानी सम्बन्धी उपकरणको प्रयोग गर्नुपर्छ ।
यो प्रणालीमा कसको के भूमिका?
विक्रेताको भूमिका
१. विभागमा सूचीकृत गरिएको विद्युतीय बीजक सम्बन्धी सफ्टवेयर प्रयोग गरी बीजक जारी गर्नु पर्छ ।
२. विद्युतीय भुक्तानी सम्बन्धी उपकरणका माध्यमबाट भुक्तानी प्राप्त गर्ने र फिर्ता गर्ने गरी भुक्तानी प्रणाली सञ्चालक वा भुक्तानी सेवा प्रदायकसँग विद्युतीय माध्मयबाट आबद्ध हुनु पर्छ ।
३. विद्युतीय भुक्तानी सम्बन्धी उपकरणका माध्यमबाट उपभोक्तालाई कर फिर्ता दिने प्रयोजनको लागि विभागसमक्ष निवेदन दिनु पर्नेछ र उक्त निवेदन विभागको एकीकृत कर प्रणालीमार्फत पेश गर्नु पर्छ ।
४. कर लाग्ने वस्तु वा सेवा आपूर्ति गर्दा उपभोक्ताले विद्युतीय भुक्तानी सम्बन्धी उपकरणका माध्यमबाट भुक्तानी गर्ने तरिका छनौट गरेपछि विवरण भुक्तानी प्रणाली सञ्चालक वा भुक्तानी सेवा प्रदायकलाई नेपाल राष्ट्र बैंकले निर्धारण गरेको मापदण्डअनुसार स्वचालित रुपमा पठाउनु पर्छ ।
५. कर लाग्ने वस्तु वा सेवा आपूर्ति गरी आफ्नो बैंक खातामा भुक्तानी प्राप्त गर्ने, भुक्तानी प्राप्त भएपछि आफ्नो बैंक खाताबाट स्वचालित रुपमा कर रकम उपभोक्तालाई फिर्ता गर्ने तथा यसरी कर फिर्ता गर्दा त्यस्तो कारोबार, उपभोक्ताको विवरण र फिर्ता हुने रकमको यकिन गर्नुपर्छ ।
६. विद्युतीय भुक्तानी सम्बन्धी उपकरणका माध्यमबाट उपभोक्ताको खातामा फिर्ता गरेको कर रकम प्रत्येक कर अवधिको कर विवरण पेश गर्दा उक्त कर विवरणको अन्य थपघट महलको क्रेडिटतर्फ उल्लेख गर्नुपर्छ ।
७. आफ्नो कारोबारस्थलमा विद्युतीय भुक्तानी सम्बन्धी उपकरणका माध्यमबाट भुक्तानी गर्ने उपभोक्तालाई मूल्य अभिवृद्धि कर फिर्ता हुने सुविधा रहेको जानकारी सार्वजनिक गर्नुपर्छ ।
भुक्तानी प्रणाली सञ्चालक र भुक्तानी सेवा प्रदायकको भूमिका
१. विद्युतीय भुक्तानी सम्बन्धी उपकरणका माध्यमबाट उपभोक्तालाई कर फिर्ता दिने प्रयोजनको लागि विभाग समक्ष निवेदन दिनु पर्नेछ र उक्त निवेदन विभागको एकीकृत कर प्रणालीमार्फत पेश गर्नु पर्नेछ ।
२. विक्रेताबाट विवरण स्वःचालित रुपमा प्राप्त भएपछि उपभोक्ताको बैंक खाताबाट विक्रेताको बैंक खातामा रकम जम्मा गर्ने र मूल्य अभिवृद्धि कर रकमको दश प्रतिशतले हुने रकम पुनः विक्रेताको बैंक खाताबाट उपभोक्ताको बैंक खातामा जम्मा गरिदिनुपर्छ ।
३. विक्रेता र उपभोक्ताको खातामा रकम आदान प्रदान गरेपछि प्रत्येक कारोबारको विवरण विभागको प्रणालीमा कारोबार भएको दिनको भालिपल्ट स्वचालित रुपमा पठाउनु पर्छ ।
४. कर फिर्ता भएपछि कर फिर्ता रकम र कारोबार संकेत नम्बर सहितको विवरण विक्रेताको विद्युतीय बीजक सम्बन्धी सफ्टवेयरमा स्वचालित रुपमा पठाउनु पर्छ ।