प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या आएपछि नेकपा सचिवालय बैठक स्थगित

काठमाडौँ, २६ माघ । प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आएपछि आज बस्ने भनिएको नेकपा केन्द्रीय सचिवालय बैठक पनि स्थगित भएको छ । नेकपाको एकता प्रक्रिया टुङ्ग्याउन आज विहान प्रम निवास बालुवाटारमा केन्द्रीय सचिवालयको बैठक बस्ने तय गरिएको थियो । ‘आजका लागि तय गरिएको बैठक स्थगित भएको छ’ नेकपा महासचिव विष्णु पौडेलले भने, ‘प्रधानमन्त्रीज्यूलाई आराम गर्नुपर्ने भएकाले बैठक स्थगित भएको हो ।’

आजको बैठकको तयारी स्वरुप नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच शनिबार विहान छलफल भएको थियो । स्वास्थ्य प्रतिकूल भएको जनाउँदै प्रधानमन्त्री ओली दरवारमार्गस्थित याक एण्ड यति होटलमा सरकारले आयोजना गरेको ‘सगरमाथा सम्बाद’ को राष्ट्रिय सम्मेलनमा पनि सहभागी भएनन् ।

नेपालले पहिलो पटक आयोजना गर्न लागेको ‘सगरमाथा सम्वाद’ सन्दर्भको राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रम प्रम ओलीले गर्ने कार्यक्रम थियो । प्रधानमन्त्री अनुपस्थित भएपछि कार्यक्रमको उद्घाटन उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले गरेका थिए ।

Loading...