चट्याङ लागेर तीन जनाको मृत्यु

दाङ, २६ माघ । दाङ र आसपासको क्षेत्रमा शनिबार दिउँसो हावाहुरीसहित पानी परेको समयमा चट्याङ पर्दा जिल्लाका छुट्टाछुट्टै दुई स्थानमा तीनको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङको अनुसार चट्याङ लागेर तुलसीपुरमा एक महिला र एक बालिकाको मृत्यु भएको छ भने घोराहीमा एक बालकको मृत्यु भएको छ ।

दिउँसो करीब १ः०० बजे तुलसीपुर उपमहानगरपालिका ७ निवासी गीता चौधरीको घरमा चट्याङले हानेको थियो । चट्याङमा परी उनकी सात वर्षीया छोरी सृष्टि र सोही ठाउँकी ५४ वर्षीया लक्ष्मी आचार्य घाइते भएका थिए । उनीहरुको उपचारको क्रममा मृत्यु भएको हो ।

त्यस्तै घोराही उपमहानगरपालिका ११ हापुर निवासी सूर्यबहादुर पुरीका आठ वर्षीया छोरा ताराको पनि मृत्यु भएको छ । आँगनमा खेलिरहेको अवस्थामा बालकलाई चट्याङले हानेर घाइते बनाएको थियो । बालकको राप्ती उपक्षेत्रीय अस्पतालमा उपचारको लागि ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब निरीक्षक सुमित खड्काले जानकारी दिए ।

Loading...