वमजनकाे अाश्रममा प्रहरीको घेरा, वमजन कतै नभेटेपछि चेला पक्राउ

काठमाडौं, २४ माघ । बलात्कार र हत्यासहित विभिन्न अपराध गरेको आरोप लागेका रामबहादुर बमजनलाई खोज्न गएको प्रहरीले सिन्धुलीस्थित आश्रमबाट उनीनिकटस्थ एक शिष्यलाई नियन्त्रणमा लिएको एक अनुयायीले बताएका छन्। बमजनसम्बद्ध बोधी धर्म श्रवण सङ्घका केन्द्रीय सदस्य छत्र घिसिङका अनुसार बमजनका शिष्यहरूले ‘महामार्ग गुरु’ भन्ने गरेका ज्ञानबहादुर बमजन (झ्याम्पा तोप्चेन) लाई प्रहरीले नियन्त्रणमा लिएको हो।

बिहानै आश्रम पुगेको नेपाल प्रहरीको एउटा टोलीले सोधपुछपछि उनलाई गिरफ्तार गरेको हो। घिसिङका अनुसार प्रहरीहरू नौवटा गाडीमा आएका थिए।तर जिल्ला प्रहरी कार्यालय सिन्धुलीकी प्रमुख प्रहरी उपरीक्षक रञ्जु सिग्देलले उनलाई गिरफ्तार नगरिएको बताइन्।

उनले  भनिन्, “उहाँलाई बुझ्न बोलाएका हौँ, आफ्नो गाडी नभएकाले हामीसँग आउनु भएको हो। गिरफ्तार गरेको होइन। उहाँसँग उहाँका मान्छेहरू पनि हुनुहुन्छ।”

आश्रममा प्रहरी पुगेको पाएपछि आफूहरू गएको तर प्रहरीले प्रवेश गर्न नदिएको घिसिङको भनाइ छ।केही प्रहरीहरू अहिले पनि आश्रममै रहेको र सम्भावित स्थानहरूमा बमजनको खोजी भइरहेको प्रहरी उपरीक्षक सिग्देलले जानकारी दिइन्।

आश्रममा छैनन् बमजन

बमजनलाई उनका शिष्यहरू ‘महासम्बोधी धर्मसङ्घ गुरु’ भनेर सम्बोधन गर्छन्।बमजनमाथि हत्या, यौन हिंसा र मानिसहरू बेपत्ता पारेको समेत विभिन्न आरोपहरू लाग्दै आएका छन्।त्यसबारे थप जानकारी केही बेरमा दिने सिन्धुलीकी प्रहरी प्रमुख रञ्जु सिग्देलले बताइन्।तर बमजनका अनुयायीहरूले त्यो आरोप अस्वीकार गर्दै आएका छन्।आश्रमबाहिर रहेका घिसिङका अनुसार बमजन भने आश्रममा छैनन्।उनी ‘महाध्यान’ मा रहेको उनको भनाइ छ।

उनले भने, “भौतिक, सांसारिक रूपमा देखिने आवासमा उहाँ हुनुहुन्न। जङ्गलतिर कता हुनुहुन्छ।”यसअघि सिन्धुलीकी प्रहरी उपरीक्षक सिग्देलले बमजनलाई खोज्न प्रहरी गएको जानकारी दिएकी थिइन्।बाराको रतनपुरी गाउँनजिकैको वनबाट तपस्या सुरु गरेका बमजनले पछिल्लो दशकमा मुलुकको विभिन्न ठाउँमा आश्रम बनाउँदै आफ्नो वासस्थान समेत फेरिरहने गरेको अधिकारीहरूको भनाइ छ।

बाराबाहेक सिन्धुपाल्चोक, लमजुङ र सर्लाही जिल्लामा पनि उनको आश्रम रहेको प्रहरी अधिकारीहरूले गत वर्ष बीबीसीलाई बताएका थिए।गत वर्ष बमजनले सञ्चालन गरेको आश्रमबाट अनुयायीहरू बेपत्ता भएको विवरण सार्वजनिक भएपछि उनीमाथि विभिन्न किसिमका आरोप लाग्न थालेको थियो।

को हुन् बमजन

बमजनआबद्ध संस्थाको वेबसाइट मैत्रीय डट इन्फोमा उपलब्ध जानकारीअनुसार उनको जन्म सन् १९९०को एप्रिल १० तारिखमा रतनपुर बारामा भएको थियो।उनका मातापिता किसान थिए। उनकी आमाको १२ वर्षको उमेरमा विवाह भएको थियो।

उनका आमाबुवाका नौ सन्तान छन्। उनी साहिँला छोरा हुन्।उनले कलिलो उमेरमै ध्यानमा मग्न भएर सबैलाई आश्चर्यचकित बनाएको बताइन्छ।”उनी गर्भमा हुँदा उनकी आमालाई माछामासु खान मन लागेको थिएन र पछि बमजनले पनि मासु खाएनन्। उनी सानो उमेरदेखि नै लामो समयसम्म घरबाहिर जाने गर्थे,” वेबसाइटमा उल्लेख गरिएको छ।

सन् २००५ मा  उनका परिवार, साथीभाइ र अनुयायीले बमजन छ महिनासम्म पानी पनि नपिएर ध्यानमा लीन भएको र बुद्धत्व प्राप्त नहुँदासम्म उनी ध्यानमै रहने बताएका थिए।उक्त विवरणका अनुसार गौतम बुद्ध र बमजन दुवैका आमाको नाम मायादेवी भएकाले स्थानीयवासीहरूले उनले गरेको तपस्यालाई सिद्धार्थ गौतम बुद्धसँग जोडेर हेरेका थिए। उनलाई केही सञ्चारमाध्यमले ‘लिटल बुद्ध’ को उपनाम पनि दिएका थिए।

तपस्या गर्ने क्रममा उनी बीचबीचमा हराउने र केही समयपछि फेला पर्ने क्रम चलिनै रह्यो। सोह्र वर्षको उमेरमा तपस्या गर्न सुरु गरेका बमजन पहिलो पटक १० महिना लामो ध्यान बसेकै बेला अचानक सम्पर्कविहीन भएको बताइन्छ।तपस्यामा रुचि र बुद्धसँगको तुलनाका कारण उनी ध्यान बसेको स्थानआसपास उनलाई हेर्न मात्र आउने आगन्तुक र भक्तजनहरूको भिड लाग्ने गर्न थाल्यो।

अनुयायीहरूले बिस्तारै उक्त क्षेत्रलाई धार्मिक ध्वजापताकाले सुसज्जित गरेपछि उक्त स्थान बिस्तारै धार्मिक स्थलमा परिणत हुँदै गयो।नेपालमा मात्र नभएर विश्वव्यापी रूपमै चर्चा बटुल्न सफल उनी यति चर्चित भए कि उनले निकै कम समयमा सामान्य बुद्धभक्तबाट चर्चित तपस्वीको भेष धारण गरे।

देशका विभिन्न ठाउँहरूमा आश्रम खोले र नेपालभित्र र बाहिर आफ्ना अनुयायीहरूको सङ्ख्या समेत क्रमिक रूपमा बढाउँदै लगे।त्यसै कारण उनले “भित्रभित्रै असीमित शक्ति” आर्जन गर्न थालेको उनीबारे प्रकाशित थुप्रै विवरणहरूमा उल्लेख छ । विविसीबाट

Loading...