काठमाडौं, २४ माघ । प्रतिनिधिसभाको बैठक आज पनि अवरुद्ध भएको छ । राजनीतिक प्रतिशोधका आधारमा पार्टी उपाध्यक्ष विजयकुमार गच्छदारमाथि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको भन्दै कांग्रेसले संसद बैठक अवरुद्ध गरेको हो ।
बैठकको सुरुमा कांग्रेस सांसद मिन विश्वकर्माले अख्तियार सरकारको छायाँ बनेको र प्रतिशोधका आधारमा विपक्षलाई सिध्याउने हिसावले कारवाही अगाडि बढाएको आरोप लगाए ।
उनले अख्तियरले एउटै विषयमा मुछिएका केहीलाई उन्मुक्ति दिने र केहीलाई मुद्दा लगाउने काम गरेकाले अख्तियारप्रति शंका पैदा भएको उल्लेख गरे । बैठकमा विपक्ष दल कांग्रेसले उभिएर विरोध जनाइरहेपछि सभामुख अग्नी सापकोटाले आधा घण्टाका लागि बैठक स्थगित गरेका छन् ।