अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्रलाई महानगरको ३ करोड अनुदान

काठमाडौं, २३ माघ । काठमाडौं महानगरपालिकाले अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्रको धम्महलको भवन बनाउन ३ करोड १ लाख ६९ हजार २ सय रुपैयाँ अनुदान दिएको छ । काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले केन्द्रका अध्यक्ष प्रतिकरत्न ताम्राकारलाई बुधबार चेक हस्तान्तरण गरे ।

महानगरको वडा १० शंखमूलमा ७ रोपनी ६ आना ३ पैसामा फैलिएको केन्द्रलाई चेक हस्तान्तरपछि नगरप्रमुख शाक्यले बुद्धको देश भनेर विश्वभर चिनाउन अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्रले ठूलो योगदान गरेको भन्दै यस्तो संस्थालाई महानगरको तर्फबाट सहयोग गर्न पाउँदा खुसी लागेको बताए ।

उनले संघीय राजधानीको मेयरसँग अलिक बढी नै अपेक्षा हुने भएकाले पनि सबैको अपेक्षाअनुरूप काम गर्न कठिनाइ भएको स्वीकार गरे । ‘‘कतिपय सन्दर्भमा यो भएन त्यो भएन भनेर आलोचना मात्रै गर्ने तर के–के गर्नुपर्‍यो त भनेर सुझाव माग्दा यो गर्नुपर्‍यो भनेर भन्न नसक्ने प्रवृत्ति छ,’’ उनले सुनाए । उनले काम गर्ने सिलसिलामा केही कमजोरी हुनसक्ने औल्याए । ‘हामी सच्याएर जान तयार छौँ । तर, गरेका कामको जस दिने हो भने हामीलाई काम गर्न थप उत्साह हुने थियो,’’ उनले भने ।

केन्द्रका अध्यक्ष ताम्राकारले काठमाडौं महानगरले सम्पदा संरक्षणसँगै विकास निर्माणका काममा ठूलो योगदान गरेको बताए । महानगरले गरेको आर्थिक सहयोगबाट आफूहरू निकै उत्साहित भएको भन्दै सामाजिक सेवा र बौद्ध दर्शनको प्रवर्द्धनका लागि काम गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

Loading...