अपाङ्ग बालबालिकाको शिक्षालयलाई सम्मान

काठमाडौँ, २७ असोज । बहिरा तथा सुस्त श्रवण भएका बालबालिकालाई विद्यालय शिक्षा र व्यावसायिक शिक्षा प्रदान गर्ने विद्यालयलाई सम्मान गरिएको छ ।

त्रिवि शिक्षण अस्पताल, नाक, कान घाँटी (इएनटी) विभागअन्तर्गत स्थापित कल्याणमणि आचार्य दीक्षित स्मारक कोषको २८औँ वार्षिकोत्सव समारोहमा बाग्लुङ नगरपालिका– १ बाङ्गेचौरस्थित धौलागिरि बहिरा (आ) माविका संस्थापक केबी राना मगर र कोषले बहिरा भैरहवाकी शिक्षिका दिलमाया थापालाई सम्मान गरेको हो । विद्यालयले हाल कक्षा १ देखि माध्यमिक तहसम्म २३० बहिरा तथा सुस्त श्रवण भएका बालबालिकालाई विद्यालय शिक्षा तथा प्राविधिक शिक्षा प्रदान गर्दै आएको छ ।

चिकित्साशास्त्र अध्ययन संस्थानबाट २०७४ को इएनटी विषयको एमएस विषयमा प्रथम हुने डा विज्ञानराज ज्ञवाली र संस्थानकै २०१४ को इएनटीसम्बन्धी वाक् तथा श्रवण विषयको परीक्षामा प्रथम हुने सुशील गैरेलाई समेत पदक, नगद तथा प्रमाणपत्रसहित सम्मान गरियो । गरीब र असहाय सुस्त श्रवण भएका दुई व्यक्तिलाई श्रवणयन्त्र र बहिरा विद्यालयका पाँच बालबालिकालाई नगद छात्रवृत्तिसमेत वितरण गरिएको छ ।

संस्थानका डीन प्रा डा जगदीशप्रसाद अग्रवालले बहिरा तथा सुस्त श्रवण भएका व्यक्तिले गर्ने काम उल्लेखनीय सेवा भएको बताउँदै भने, “यस्ता व्यक्तिले पनि सही उपचार र शिक्षा पाएमा अरुले जस्तै राम्रो गर्न सक्छन् भन्ने बनाउन सक्न र तिनीहरूका लागि सहयोग गर्नु ठूलो काम हो, यसमा सबैको साथ सहयोग आवश्यक छ ।” संस्थानका पूर्व डीन प्रा डा मदनप्रसाद उपाध्यायले डा दीक्षित सहयोगी र समाजसेवामा गहिरो रुचि राख्ने व्यक्ति भएको स्मरण गर्दै उहाँले नेपालको क्रिकेट खेलको उत्थानमा पनि योगदान गरेको जानकारी दिए ।

सुस्त श्रवण भएका डा दीक्षितको निधन भएपछि उनकी श्रीमती करुणाले उहाँको सम्झनामा विसं २०४६ मा त्रिवि शिक्षण अस्पताल इएनटी विभागअन्तर्गत रहने गरी बहिरा र सुस्त श्रवण भएका व्यक्ति, इएनटी चिकित्सक, वाक् तथा श्रवण विशेषज्ञ, सोसम्बन्धी काम गर्ने संघसंस्था र विद्यालयलाई सहयोग गर्ने उद्देश्यले कोष स्थापना गरेका हुन् ।

कोषका संस्थापिका करुणाकी प्रतिनिधि तथा उनकी छोरी सोनिया पोखरेलले बुुबाले आफूमा पनि सोही समस्या भएकाले सुस्त श्रवण भएका व्यक्तिलाई सहयोग गर्न स्वास्थ्य शिविर गर्नेलगायत काम गर्ने गरेको जानकारी दिए । डा दीक्षित विसं २०३५ देखि २०३८ सम्म आइओएमको सहायक डीन थिए । उनको थाइल्याण्ड भ्रमणमा रहेका समयमा विसं २०४६ फागुनमा निधन भएको थियो । बहिरा र सुस्त श्रवण व्यक्तिबाहेक क्रिकेटसम्बन्धी सेवाका लागि पनि कोष खडा गरिएको छ । कोषले हरेक वर्ष कार्तिक शुक्ल अष्टमीका दिन डा दीक्षितको जन्मदिनमा सम्मान तथा पुरस्कार छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

Loading...