अन्ततः गयो विजय गच्छेदारको सांसद पद, जालान जेल ?

काठमाडौं, २२ माघ । नेपाली कांग्रेसका उपसभापति तथा संसदीय दलका उपनेता विजयकुमार गच्छदार सांसद पदबाट निलम्बित भएका छन्।

ललिता निवास जग्गा काण्डमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी स्वतः सांसदबाट निलम्बित भएका हुन्।

भ्रष्टाचार मुद्दा लागेपछि प्रतिनिधिसभा नियमावली २०७५ अनुसार सांसद पदबाट स्वतः निलम्बित हुने व्यवस्था रहेको छ।

उनी विरुद्धको मुद्दा अन्तिम किनारा नलागेसम्म सांसदको हैसियतमा संसदमा जान पाउने छैनन् । यदि भ्रष्टाचार मुद्दामा अख्तियारको दाबी अदालतबाट ठहर भएमा गच्छदारको राजनीतिक जीवन समाप्त हुनेछ ।

राजनीतिक दल सम्बन्धी कानुनले भ्रष्टाचारजन्य नैतिक पतन हुने फौजदारी मुद्दामा अन्तिम अदालतबाट सजाय पाएको व्यक्ति कुनै पनि चुनावमा उम्मेदवार हुन पाउँदैन । यसअघि कांग्रेसका नेताहरु खुमबहादुर खड्का, चिरन्जीवी वाग्ले, जेपी गुप्तालगायतका नेता सर्बोच्च अदालतबाट भ्रष्टाचारी ठहर भएपछि राजनीतिक जीवन समाप्त भएको थियो ।

Loading...