राजनीति गर्नु छ भने पार्टी कार्यालय जानुस्, संस्थाभित्र चल्दैन: मन्त्री बाँस्कोटा

‘आमाको जन्मोत्सवमा त खुसी हुने हो’ शंख बजाउने होइन

काठमाडौं, २२ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले नेपाल टेलिकममा आन्दोलनरत कर्मचारीहरुसँग हिसाब किताब गर्ने चेतावनी दिएका छन् । उनले राजनीति गर्ने भए पार्टी कार्यालयमा जान निर्देशन समेत दिए । नेपाल टेलिकमको विनियमावलीको विरोध गर्दै कर्मचारीहरुले आन्दोलन गर्दै आएका छन् । बुधबारको १६ औं वार्षिक उत्सव समारोहमा पनि कर्मचारीहरुले प्रदर्शन गरेका थिए ।

पहेंलो रंगको कागजलाई टोपी जस्तो बनाइ लगाएर समारोहमा उपस्थित भएका आन्दोलनरत कर्मचारीहरुतर्फ हेर्दै मन्त्री बास्कोटाले भने, ‘स्यान्टा क्लज जस्तो बनाएर उभिनु भएको छ । राजनीति गर्नु छ भने पार्टी कार्यालय जानुस् । संस्थाभित्र चल्दैन । यो विनाशकारी सोच हो, यो सोच त्याग्नुपर्छ । यसको हिसाबकिताब पनि म राम्रै गर्छु । अराजकता सहिन्न ।’

कुनै पनि संस्थाको वार्षिक उत्सव आमाको जन्मोत्सव जस्तै भएको भन्दै मन्त्री बास्कोटाले कर्मचारीहरुलाई भने, ‘आमाको जन्मोत्सवमा त खुसी हुने हो, शंख बजाउने होइन । संस्थालाई माया गर्नुस् ।’

वार्षिक उत्सवलाई सम्बोधनको क्रममा आन्दोलनरत कर्मचारीहरुविरुद्ध खरो रुपमा प्रस्तुत हुँदै मन्त्री बास्कोटाले भने, ‘जसले स्पेसिफिकेसन बनाउन जान्दैन त्यो झण्डा बोकेर हिँड्या छ, ब्याट्रीसम्म चोर्नेहरु छन् । बिग्रेको टावर बनाउन नजान्ने इन्जिनियरहरु छन् । त्यस्तालाई म संरक्षण गर्दिनँ ।’

Loading...