काठमाडौं, १८ माघ / नेपाल खड्गी सेवा समितिले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई शनिबार सम्मान गरेको छ ।
समितिको सातौं राष्ट्रिय महाअधिवेशनको अवसरमा शनिबार आयोजित कार्यक्रमवीच प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई सम्मान गरिएको हो ।
महानिरिक्षक खनालले नेपाल प्रहरीको इतिहासमा नै पहिलो पटक थालिएकाे समुदाय प्रहरी साझेदारी अभियान सफल गराउन बिशेष योगदान पुर्याउनुका साथै राष्ट्र सेवामा समर्पित हुँदै प्रहरी महानिरीक्षकको गरिमामय पदमा रही समाजमा शान्ति सुव्यवस्था कायम गर्न एवम् राष्ट्र निर्माण कार्यमा पुर्याउनु भएको अतुलनिय योगदानको प्रशंसा गर्दै उहाँलाई सम्मान गरिएको हो ।
कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समितिका पदाधिकारीहरु, विभिन्न गुठीका प्रतिनिधि , १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत बक्सिङ्गमा स्वर्ण पदक विजेता सनिल शाही र तेक्वान्दो खेलमा रजत पदक बिजेता मनिता शाहीलाइ नगद सम्मान गरिनुका साथै समितिद्वारा आयोजित विभिन्न प्रतियोगिताका विजयी खेलाडीहरु एवम् समितिलाई सहयोग पुर्याउने संघसंस्था तथा महानुभावलाई पुरस्कार, प्रशंसापत्र प्रदान गरी सम्मान गर्नुभएको थियो ।
सो अवसरमा समुदाय, मौलिक परम्परा, स्थानीय विषयलाइ प्राथमिकताका साथ विभिन्न सञ्चार माध्यमबाट नागरिकमा सुसूचित गर्दै आएका लहना साप्ताहिकका नृपेन्द्रलाल श्रेष्ठ र सुरेन्द्रभक्त श्रेष्ठ, उज्यालो एफ एमका सिल्भिया राजोपाध्याय, झीगु डटकमका रेखा शाक्य, नेवा टिभीका नवीन जोशी र रेडिया मिर्मरे नेपाल भाष कार्येक्रम संयोजक तथा ननस्टप खबरका बुद्धशरण शाहीलाइ सम्मान गरिएको छ ।
सो अवसरमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ‘नाय:,सिंह, शाही र खड्गी समाजको संस्कार’ नामक पुस्तक विमोचन गर्दै समाजमा शान्ति सुरक्षा कायम गर्न नेपाल प्रहरीले अवलम्बन गरेको समुदाय-प्रहरी साझेदारी कार्यक्रम अत्यन्तै फलदायी रहेको चर्चा गर्दै प्रहरी संगठनलाई समुदायमैत्री र व्यावसायिक बनाउन महानिरीक्षक खनालको नेतृत्वले निर्वाह गर्नुभएको भूमिकाको सराहना गर्नुभयो ।
कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले ‘समुदाय प्रहरी साझेदारीया अवधारणा पत्र नेपालभाषा अनुवाद’ नामक पुस्तकको विमोचन गर्दै सुरक्षित समाज र राष्ट्र निर्माणको कार्यमा स्थानीय तहसँग समन्वय गरेर समुदाय-प्रहरी साझेदारीको अवधारणा अन्तर्गत समुदायसँग सहकार्य गर्दै अगाडि बढेको बताउनुभयो । समाजमा शान्ति स्थापना तथा अपराध नियन्त्रणका साथ साथै नेपाल खड्गी सेवा समितिले गरेको सकारात्मक कार्यको उहाँले प्रशंसा गर्नुभयो ।
समितिले अन्य प्रहरी अतिथिहरुलाइ मायाको चिनो प्रदान गरेका थिए ।
कार्यक्रममा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्व राज पोखरेल, प्रहरी वरिष्ठ अधिकृतहरु, नेपाल खड्गी सेवा समितिका पदाधिकारीहरु, स्थानीय बासिन्दाहरु लगायतको उपस्थिति रहेको थियो ।
उक्त अवसरमा नेपाल प्रहरी संगीत विद्यालय महाराजगंज बात नेपालभाषका विभिन्न गीतका साथै मनोरञ्जनात्मक विभिन्न धुनहरु तथा नेपाल खड्गी सेवा समितिद्वारा विभिन्न साँस्कृतिक नाय् खीं बाजा प्रस्तुत गरिएको थियो ।