माघ १४,भक्तपुर । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले महानगरीय ट्राफिक प्रहरी परिसर भक्तपुरको नवनिर्मित कार्यालय भवनको उद्घाटन गर्नु भएको छ । सोमबार आयोजित एक कार्यक्रमबीच उहाँले उक्त भवनको शीलालेखको अनावरण गर्नुको साथै निरीक्षण समेत गर्नुभयो ।
उक्त भवन समुदाय-प्रहरी साझेदारी अवधारणा अन्तर्गत जनसहभागिताद्वारा निर्माण सम्पन्न भएको हो । सो अवसरमा भवन निर्माण समितिका अध्यक्ष नविन प्रजापतिले प्रहरी महानिरीक्षक खनाललाई सो भवन हस्तान्तरण समेत गर्नुभयो ।
समारोहमा प्रहरी महानिरीक्षक खनालले भवन निर्माणको क्रममा सहयोगी दाता र निर्माण समितिका पदाधिकारीहरुलाई सम्मानपत्र प्रदान गर्नुभयो ।
सो अवसरमा प्रहरी महानिरीक्षक खनालले समुदायको साथ र सहयोग प्राप्त भएमा निर्माणको कार्यले तीव्रता पाउने उल्लेख गर्दै प्रहरीले प्राप्त भवन मार्फत आमनागरीकलाई प्रदान गर्ने सेवाको स्तरमा थप उत्कृष्टता आउनु पर्नेमा जोड दिनुभयो । प्रहरीले अपराध विरुद्ध कठोर रुपमा प्रस्तुत भई अपराध न्यूनिकरण र शान्ति सुरक्षा कायम गर्न सरोकारवाला निकायहरु तथा नागरिकसँगको समन्वय गरेर अगाडि बढ्नुपर्ने उहाँले चर्चा गर्नुभयो ।
समाजको सुरक्षामा समुदायको समेत सहभागिता आवश्यक भएकोले नेपाल प्रहरीले “समुदाय-प्रहरी साझेदारी” को अवधारणा ल्याएको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले यस अवधारणा अन्तर्गत विभिन्न कार्यक्रम संचालनको लागि नागरिक समाजसँग समन्वय गर्दै अगाडि बढेको बताउनुभयो । कानुनको कार्यान्वयन हुन र समाजमा शान्ति सुरक्षा स्थापना गर्न प्रविधिका साथै मानवीय उपस्थिति पनि जरुरि रहने उहाँले उल्लेख गर्नुभयो ।
समारोहमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले नवनिर्मित सुन्दर भवनसँगै नेपाल प्रहरीको पेशागत क्षमतामा समेत थप अभिवृद्धि हुनुपर्ने चर्चा गर्नुभयो । समुदाय-प्रहरी साझेदारी कार्यक्रमले प्रहरी र जनताबीचको सम्बन्ध स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै नेपाल प्रहरीले कानुनको कार्यान्वयनमा निष्पक्षरुपमा अगाडि बढ्नुपर्ने उहाँले बताउनुभयो ।
भवन निर्माण समितिका कोषाध्यक्ष जितेन्द्र खायमलीले नवनिर्मित भवनको आयव्यय विवरण प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा स्थानीय निकायका प्रमुखहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु, स्थानीय संचारकर्मी लगायत स्थानीय समाजसेवीहरुको उपस्थिति रहेको थियो ।