सकियो ओली–प्रचण्डबीच भेटवार्ता

काठमाडौं, १२ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्धय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान भएको भेटवार्तामा द्वन्द्वकालीन मुद्दा, उपसभामुख चुनाव, केन्द्रीय कमिटी बैठक र विभिन्न निकायका नियुक्तीलगायतका विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार दुवै नेताबीच माघ १५ गतेदेखि हुने गरी तय भएको केन्द्रीय कमिटी बैठकको विषयमा केन्द्रित रहेर छलफल भएको छ । त्यस्तै, उपसभामुखको निर्वाचन र द्वन्द्वकालीन मुद्दा तथा विभिन्न निकायमा पदाधिकारी नियुक्तिका विषयमा पनि अध्यक्षहरुबीच छलफल भएको जनाइएको छ ।

नेकपाले सभामुखको उम्मेदवारका रुपमा अग्नि सापकोटालाई उम्मेदवार बनाएको छ । सभामुखमा एकल उम्मेदवारी परेका कारण सापकोटा आइतबारको प्रतिनिधि सभाको बैठकबाट निर्विरोध रुपमा सभामुखमा चयन भएको घोषणा हुनेछ । संवैधानिक व्यवस्थाअनुसार उपसभामुखमा नेकपाले उम्मेदवार उठाउन मिल्दैन ।

उपसभामुखका लागि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी राजपा मुख्य रुपमा दावेदार देखिएका छन् । यसमध्ये प्रचण्डले उपसभामुखको जिम्मेवारी नेपाली कांग्रेसलाई दिनुपर्ने पक्षमा छन् भने ओली राजपाबाट उपसभामुख बनाउनुपर्ने पक्षमा छन् ।

Loading...