दिपक मनाङ्गेलाई थुनामा, कुटाइ खाएको भन्दै उजुरी हाल्ने मिलन गुरुङ पनि पक्राउ

काठमाडौँ । गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङ्गें)लाई अनुसन्धानका लागि दुई दिन थुनामा राख्न प्रहरीले अनुमति पाएको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीले अभद्र व्यवहारको मुद्दामा अनुसन्धानका लागि मनाङ्गेलाई दुई दिन थुनामा राख्न अनुमति दिएको हो ।

अखिल नेपाल फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङले आफूमाथि कुटपिट भएको भन्दै मनाङ्गेविरुद्ध उजुरी दिएका थिए । मिलनलाई मनाङ्गेले सार्वजनिक मञ्चमै झापड हानेका थिए ।

यता सांसद दीपक मनाङ्गेविरुद्ध उजुरी दिने मिलन गुरुङलाई कास्की प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका डीएसपी राजकुमार केसीका अनुसार बैंकिङ कसूरमा अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको हो ।

पोखराको गैह्रापाटनबाट गुरुङ पक्राउ परेका हुन् । ‘गुरुङविरुद्ध अरु पनि ठगीका उजुरीहरु छन्’, डीएसपी केसीले भने । उनले उजुरीकर्ताको नाम भने खुलाउन नमिल्ने बताए । मिलनले दीपक मनाङ्गे विरुद्ध सार्वजनिक मञ्चमै आफूलाई झापड हानेको उजुरी गरेका थिए ।

उनको उजरीका आधारमा मनाङ्गेलाई प्रहरीले बिहीबार पक्राउ गरेर अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।