नेपालमै पहिलोपटक १०८ फिट अग्लो स्थापना गरिने

सुर्खेत, ५ माघ । वीरेन्द्रनगरमा बुद्ध सरोवर निर्माणार्थ सहयोग जुटाउने उद्देश्यले शनिबारदेखि ‘धम्म देशना’ बुद्ध शिक्षा प्रवचन कार्यक्रम शुरु भएको छ । नेपालमै पहिलोपटक १०८ फिट अग्लो बुद्धमूर्ति स्थापना गर्न निर्माणस्थलमै ‘धम्म देशना’ को शुभारम्भ गरिएको हो ।

कार्यक्रमको शुभारम्भ गर्दै प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री नन्दसिं बुढाले बुद्ध सरोवर निर्माणले पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने बताए । उनले विस्तृत आयोजना प्रतिवेदन डिपिआर सहित प्रस्तावना लिएर मन्त्रालयसमक्ष सहयोगको आग्रह गर्दै भने, “सहयोग सङ्कलन गरेर निर्माण सम्पन्न गर्न समय लाग्न सक्छ, त्यसैले प्रस्तावना ल्याएर आउनुस् समपूरक र विशेष अनुदानमार्फत आर्थिक सहयोग प्रदेश सरकारले उपलब्ध गराउँदछ ।”

नेपाल कम्युनिष्ट पार्टी नेकपा का प्रदेशसभा सचेतक सीता नेपालीले वीरेन्द्रनगरको मुटु बुद्धपथमै बुद्ध सरोवर निर्माण गरिनु गौरवको विषय भएको बताए । धम्म देशना शुभारम्भमा धर्मगुरु प्रेमदोर्जे लामाले जिल्ला प्रहरी कार्यालयमा बुद्धमूर्तिलाई सम्मानजनक रुपमा राख्न आग्रह गरे ।

माघ ९ गतेसम्म सञ्चालन हुने ‘धम्म देशना’बाट करिब रु ५० लाख रकम सङ्कलन हुने अपेक्षा गरिएको छ । दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएको बुद्ध सरोवर निर्माणमा न्यूनतम रु नौ करोडदेखि अधिकतम रु १२ करोड लागतको अनुमान गरिएको व्यवस्थापन समितिका अध्यक्ष पञ्चसिंह रोकाया खाम्पाले बताए ।

Loading...