जनकपुरमा पत्रकार र मेयरबीच कुटाकुट

जनकपुरधाम  । जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साह र समाचार संकलनका लागि गएका पत्रकारबीच नै कुटाकुट भएको छ । मेयर साहले आफ्नो समय नै नलिएर आएका पत्रकारलाई कुनै प्रतिक्रिया नदिने भनेपछि दुई पक्षबीच विवाद उत्पन्न भएको थियो ।

दुवै पक्षबीचको विवादले झडपको स्थिति सिर्जना भएपछि उपमहानगरपालिकाको प्रहरीले पत्रकारहरुलाई बाहिर निकालेको छ । तर, प्रतिक्रिया लिन गएका पत्रकारहरुले भने आफूहरुलाई कोठामा थुनेर कुटेको आरोप लगाएका छन् ।

मेयर साहले आफ्नो कार्यकक्षको ढोका थुन्न लगाइ आफ्ना आसेपासे र नगर प्रहरी लगाएर आफूहरुमाथि कुटपिट गरेको पीडित पत्रकारहरुको भनाइ छ ।

पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्र, पत्रकार अमरकान्त ठाकुर, शुभाष कर्ण, राजा झालगायत १२ जना पत्रकारहरुमाथि मंगलबार कुटिपट भएको हो।

मेयर र उनका सहयोगीहरुले पत्रकारमाथि हेल्मेटले आक्रमण गरेका छन्। जानकी मन्दिर अगाडिको सडक विस्तारको क्रममा ८५ लाख रुपैयाँको चलखेलमा निजी घर बचाउन जानकी मन्दिरको फूलबारी अतिक्रमण गरी पर्खाल भत्काएको आरोपको विषयमा प्रतिक्रिया लिन पुगेको बेला पत्रकारहरुमाथि कुटपिट भएकाे हाे।

मेयर साहले उनका सहयाेगी तथा नगर प्रहरी परिचालन गरी कुटपिट गरेका पीडित पत्रकारले बताएका छन्। कुटपिटबाट अमरकान्त ठाकुर, शुभाष कर्ण, सुमित मिश्र र राजा झा सामान्य घाइते भएका छन्।

Loading...