मेयरले गरे पत्रकारहरुलाई कोठामा थुनी गुण्डा लगाएर कुटपिट

जनकपुर, २२ पुस । जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साह र समाचार संकलनका लागि गएका पत्रकारबीच नै कुटाकुट भएको छ ।

जानकी मन्दिरको जग्गा अतिक्रमणसम्बन्धी समाचारका लागि प्रतिक्रिया लिन गएका पत्रकार र मेयर साहबीच भनाभन भएको हो । मेयर साहले आफ्नो समय नै नलिएर आएका पत्रकारलाई कुनै प्रतिक्रिया नदिने भनेपछि दुई पक्षबीच विवाद उत्पन्न भएको बताइएको छ ।

दुवै पक्षबीचको विवादले झडपको स्थिति सिर्जना भएपछि उपमहानगरपालिकाको प्रहरीले पत्रकारहरुलाई बाहिर निकालेको थियो । मेयरको प्रतिक्रिया लिन गएका पत्रकारहरुले भने मेयरले नगरप्रहरी, आफ्ना नजिकका केही मान्छेहरु बोलाएर कोठामा थुनेर आफूहरुलाई कुटेको बताएका छन् ।

नेपाल पत्रकार महासंघ घनुषा शाखाका अध्यक्ष समेत रहेका अनिल मिश्र, पत्रकारहरु अमरकान्त अमर, विकास साह, समित मिश्र लगायतले आफूहरुमाथि मेयरले कुटपिट गरेको बताएका छन् । महासंघका धनुषा अध्यक्ष मिश्रले आफूहरुलाई मेयर साहले आफ्नो कार्यकक्षको ढोका थुन्न लगाइ आफ्ना आसेपासे र नगर प्रहरी लगाएर दुव्र्यवहार गर्दै कुटपिट गरेको जानकारी दिए ।

Loading...