भ्रमण वर्षको अवसरमा मोदीलाई नेपाल भ्रमणको निम्तो

काठमाडौं, १६ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भ्रमण वर्षको अवसरमा आफ्ना समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोनमार्फत नेपाल भ्रमणको निम्तो दिएका छन् । नेपाल भ्रमण वर्षको औपचारिक उद्घाटन अगावै आज बुधबार बिहानै मोदीलाई फोन गरी प्रधानमन्त्री ओलीले नेपाल भ्रमणको निम्तो दिएका हुन् ।

फोन संवादमा नयाँ वर्ष सन् २०२० को अवसरमा शुभकामना आदानप्रदान गर्नुका साथै २०१९ को समीक्षा गर्दै उक्त वर्ष दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको निष्कर्ष निकालेको प्रधानमन्त्री ओलीले जानकारी दिएका छन् ।

‘आज बिहान भारतीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीजीसँग मेरो फोनवार्ता भयो । हामीले नयाँ वर्ष २०२० को शुभकामना आदानप्रदान गर्‍यौं । दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सन् २०१९ सफल रहेको निष्कर्ष निकाल्यौं’, प्रधानमन्त्री ओलीले ट्वीट गर्दै भनेका छन्, ‘बाँकी समस्याहरू समाधान गर्दै सम्बन्धलाई अझै उचाइमा पुर्‍याउन सन् २०२० सफल रहनेमा हामीले विश्वास व्यक्त गर्‍यौ । मैले प्रम मोदीलाई नेपाल भ्रमणको लागि पुनः आग्रह गरें ।’

Loading...