काठमाण्डौ, १५ पुस । मेलम्ची खानेपानी आयोजना तोकिएकै मितिमा सम्पन्न हुनेमा आयोजना प्रमुखले नै आशंका व्यक्तव्यक्त गरेका छन । प्रतिनिधि सभा अर्न्तगतको विकास तथा प्रविधि समितिको सोमबार बसेको बैठकमा आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले नै आयोजना तोकिएको मितिमा सम्पन्न हुनेमा शंका व्यक्त गरेका हुन ।
बाँकी काम सम्पन्न गर्ने जिम्मा पाएको चिनियाँ कम्पनीले अहिलेसम्म सन्तोषजनक काम गरे पनि सीएमसीले भुक्तानी दिन बाँकी रकमको लागी आपूर्तिकर्ताहरुको अवरोध हुन सक्ने खतरा रहेको उनले बताए । आयोजना प्रभावित क्षेत्रबाट सडक, खानेपानी लगायतका थप आयोजनाको माग, रोयल्टी बाँडफाँड लगायतका समस्या बाँकी नै रहेका कारण आयोजना समयमा सम्पन्न हुनेमा खतरा कायम रहेको उनले बताए । त्यसका लागि सुरक्षाको विशेष प्रबन्ध गर्नुपर्ने तथा आयोजना प्रभावित नागरिकको सडक, खानेपानी लगायतका माग सम्बोधन गर्न आवश्यक रहेको उनको भनाइ छ।
सीएमसीले स्थानीय ठेकदार र सप्लायर्सहरुलाई करिब १ अर्ब ६६ करोड रुपैयाँ भुक्तानी दिन बाँकी रहेको छ । सरकारले ज्याला बापत श्रमिकहरुलाई २ करोड ७३ लाख रुपैयाँ भुक्तानी दिई सकेको छ । इटालियन ठेकदार कम्पनी सीएमसीले निर्माणाधीन मेलम्ची खानेपानी आयोजनाबाट हात झिकेपछि अन्योलमा रहेको आयोजनाको बाँकी काम चिनियाँ कम्पनी सिनो हाइड्रोले पाएको छ । कम्पनीले कुनै अवरोध नआए दुई सिफ्टमा काम गरेर भए पनि आउँदो असार मसान्तसम्म पानी सुन्दरीजल खसाल्ने दाबी गरीरहेको छ । कम्पनीले यो आर्थिक वर्षभित्र पानी काठमाण्डौमा खसाल्ने र आउँदो आर्थिक वर्षमा आयोजनाको काम सम्पन्न गर्ने गरी ठेक्का पाएको हो ।