भक्तपुर नगर प्रमुखले पत्रकार बोलाएर दिए यस्तो बिज्ञप्ती

पत्रकार मित्रहरु,
नेपाल पर्यटकीय दृष्टिले संसारको उत्कृष्ट गन्तव्यस्थलमध्ये एक हो । विश्व सम्पदा सूचीमा सूचिकृत अद्वितीय र अनुपम सम्पदाहरु नै पर्यटकीय आकर्षण हुन् । काठमाडौं उपत्यकाभित्र थोरै दुरीमा सातवटा विश्व सम्पदाहरु छन् । त्यसमध्येको एक हो भक्तपुर दरबार क्षेत्र ।
भक्तपुर कला र संस्कृतिले सम्पन्न नगर हो । दरबार क्षेत्र, टौमढी क्षेत्र र दत्तात्रय क्षेत्र भक्तपुरका विशेष आकर्षणका केन्द्रहरु हुन् । हाम्रा थुप्रै सम्पदाहरु लोप भइसके भने कयौं लोपोन्मुख अवस्थामा छन् । कुनै पनि सम्पदा लोप हुनु देशकै लागि अपुरणीय क्षति हो ।
‘पुर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला र संस्कृति’ नारा दिएर भक्तपुर नगरपालिकाले कला र संस्कृतिको संरक्षणमा जोड दिइआएको छ । हाम्रा पूर्खाहरुले सयौं वर्ष अगाडि निर्माण गरेका ५५ झ्याले दरबार, ङातापोल मन्दिर, सुनढोका, भैरवनाथको मन्दिरलगायत पाटी–पौवा, ढुंगेधारा, पोखरी, सत्तल, बिहारजस्ता थुप्रै सम्पदाहरु अझै पनि जीवन्त छन् । हाम्रा पूर्खाले सिर्जेका ती सम्पदाहरुको दृश्यावलोकन गर्न वार्षिक संसारभरका लाखौं पर्यटकहरुले भक्तपुर भ्रमण गर्ने गर्छन् ।

भक्तपुर नगरपालिका भक्तपुरलाई शिक्षा, स्वास्थ्यमा उत्कृष्ट, सरसफाइमा नमुना, कला संस्कृति संरक्षित एक आदर्श नगर र पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्न जोड दिंदैछ । २०७२ सालको विनासकारी भूकम्पले भक्तपुरका ८ हजार घर र ११५ भन्दा बढी सम्पदाहरुमा क्षति पु¥यायो । ती सम्पदाहरु विदेशीको सहयोगविना भक्तपुर नगरपालिकाले पुनःनिर्माण वा जीर्णोद्धार गर्दैछ । सम्पदाहरुको पुनःनिर्माण वा जीर्णोद्धार गर्दा प्राचीन प्रविधिबाट जनताको सहयोगमा मौलिक स्वरुपमा निर्माण गर्नु भक्तपुर नगरपालिका उत्तम विकल्प ठान्छ । हालसम्म नगरपालिकाले क्षतिग्रस्त सम्पदाहरुमध्ये ९१ वटा पुनःनिर्माण र जीर्णोद्धार सम्पन्न गरी सक्यो भने डेढ दर्जन निर्माणाधीन अवस्थामा छन् । हामी छिटै नै क्षतिग्रस्त सम्पदाहरु पुनःनिर्माण वा जीर्णोद्धार गर्न चाहन्छौं तर आर्थिक र प्राविधिक कारणले अत्यन्तै महत्वपूर्ण सम्पदाहरु दरबार क्षेत्रस्थित कला संग्रहालय रहेको भवन, पहिले नगरपालिका रहेको थन्थु दरबार, दत्तात्रयस्थित पुजारी मठलगायतका सम्पदाहरु पुनःनिर्माण गर्न सकिरहेका छैनौं । यसबारे केन्द्र सरकारको ध्यानाकर्षण गर्दैछौं ।

पत्रकार मित्रहरु,
आर्थिक वर्ष २०७६÷७७ साउनदेखि मंसिरसम्मको ५ महिनाको अवधिमा गैरसार्क पर्यटक ६६,८६० जना र चिनिया“ तथा सार्क मुलुकका ४७,२८० जना गरी जम्मा १,१४,१४० जना पर्यटकहरुले भक्तपुर भ्रमण गरे । २०७५÷७६ सालको सोही अवधिमा गैरसार्क पर्यटक ६९,२७८ जना, चिनियाँ र सार्क मुलुकका ४५,८६७ जना पर्यटक गरी जम्मा १,१५,१४५ जनाले भक्तपुर भ्रमण गरेका थिए । गत वर्षको तुलनामा यस वर्ष भक्तपुर भ्रमण गर्ने पर्यटकहरुको संख्या १००५ जनाले घटेको देखिन्छ । आर्थिक वर्षको प्रारम्भमै देंगु रोगको महामारी फैलिनु, भारत र पाकिस्तानबीच काश्मिर विवाद चर्किनु, कोटेश्वरमा घण्टौं जामको बाध्यता आदि भक्तपुरमा गत वर्षको तुलनामा पर्यटकहरु घट्नुका मुख्य कारणहरु भएको हाम्रो मूल्यांकन छ ।

नेपाल सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने योजनासहित नेपाल भ्रमण वर्ष घोषणा गर्‍यो । यो निकै चुनौतीपूर्ण छ । सबैको प्रयास भयो भने त्यो असम्भव छैन । नेपाल भ्रमण वर्षलाई ध्यानमा राखेर भक्तपुर नगरपालिकाले भ्रमण वर्षलाई लक्षित गरी पर्यटन केन्द्रित विभिन्न गतिविधिहरु गर्दैछ ।

भक्तपुर भ्रमणमा आउने पर्यटकहरुको बसाइ लम्ब्याउन नगरपालिकाले सम्पदा क्षेत्रहरुमा सन्ध्याकालीन बत्तीको व्यवस्था गर्दैछ । भक्तपुरमा बास बस्ने पर्यटकहरुलाई मनोरञ्जन प्रदान गर्न सन्ध्याकालीन समयमा पाटी–पौवाहरुमा भजन गाउने, चोक–चोकमा सांस्कृतिक प्रदर्शन गर्ने तयारी पनि गरिरहेको छ ।

पर्यटकहरुले कुनै किसिमको असहजता महसुस गर्न नपरुन् भन्ने उद्देश्यले ठाउँ–ठाउँमा पर्यटक सूचना केन्द्रको व्यवस्था, स्तरीय शौचालय निर्माण तथा महत्वपूर्ण सम्पदास्थलहरुमा गाडी निषेध गर्ने कार्य पनि गर्दैछ । स्थानीय पथप्रदर्शकहरुलाई तालिम दिएर अझ बढी व्यवस्थित, मर्यादित र आधिकारिक सूचना प्रदान गर्न सक्ने गरी क्षमता अभिवृद्धि तालिम सञ्चालन, चिनिया“ र जापानी भाषाको कक्षा सञ्चालन गर्दै आएको छ ।

नगरपालिकाद्वारा सञ्चालित कलेजहरुमा होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिजम विषयको पठनपाठन तथा नगरभित्रका सबै विद्यालयहमा स्थानीय पाठ्यक्रमको व्यवस्था गरी पर्यटन विषय अध्यापन गर्दै आएको छ ।

आन्तरिक र बाह्य पर्यटकहरुको लागि विश्व प्रसिद्ध ५५ झ्याले दरबार हरेक मंगलबार र शुक्रबार कार्यालय समयमा खुला गर्ने व्यवस्था मिलाइएको छ भने पर्यटकहरुको सुविधा होस् भनी हकर्ष व्यवस्थापनतर्फ पनि नगरपालिकाले ध्यान दिएको छ ।

पर्यटकहरुको लागि सुरक्षित भक्तपुर भन्ने सन्देश दिन आपराधिक घटनाहरु हुन नदिन प्रमुख पर्यटकीय स्थानहरुमा सीसी क्यामेराको बन्दोबस्त, प्रहरीसँग समन्वय गरी स्थानीय प्रहरी साझेदारी कार्यक्रमअनुसार अपराधको न्युनीकरण गर्ने काम गरिरहेको छ ।

भक्तपुर महोत्सवको आयोजना हुने
नेपाल भ्रमण वर्ष २०२० को अवसर पारी भक्तपुर नगरपालिकाले २०७६ चैत ४ गतेदेखि ८ गतेसम्म ४ दिनसम्म भक्तपुर महोत्सव गर्ने निर्णय गरेको छ । महोत्सव व्यवस्थित गर्न नगर प्रमुखको संयोजकत्वमा १६१ सदस्यीय महोत्सव मूल समारोह समिति गठन गरिसकेको छ । सन् २०२० पुरै वर्ष भक्तपुरलाई महोत्सवमय बनाउने सोचका साथ कार्यक्रम तयारी गर्दैछौं । माघ २ गते राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा भक्तपुरमा मूल समारोह हुनेछ भने फागुन महिनामा जिल्लास्तरीय धिमे बाजा प्रतियोगिता हुनेछ ।
भक्तपुर महोत्सवमा हस्तकलाको जीवन्त प्रदर्शनी, दही उत्सव, व्यापार मेला, नौका बिहार, शैक्षिक प्रदर्शनी, सांस्कृतिक कार्यक्रम, परम्परागत वाद्यवादन प्रतियोगितालगायतका कार्यक्रमहरु गर्ने तयारी गर्दैछौं ।

त्यसैगरी नेवारी पम्परागत जीवनशैली प्रदर्शनी, कृषि उत्पादन प्रदर्शनी, माटाका भाँडा बनाउने सीप प्रदर्शनीलगायतका गतिविधिहरु गरी महोत्सवलाई भव्य रुपमा सम्पन्न गर्ने योजना तयारी गर्दैछौं ।

सन् २०२० मा वर्षैंभरि कुनै न कुनै पर्यटक केन्द्रित गतिविधि गरिरहने योजना बनाउँदैछौं । नयाँ वर्षको पूर्वसन्ध्यामा पुस १५ गते निम्न बमोजिम कार्यक्रमहरु गर्ने जानकारी गराउन चाहन्छौं –

नेपाल भ्रमण वर्ष २०७६ शुभारम्भ (Visit Nepal 2020)
सन्ध्याकालीन साँस्कृतिक सम्पदा पद यात्रा

Evening Walk with Cultural Heritages

२०७६ पुष १५ गते मंगलबार (31st DEC 2019)

कार्यक्रम स्थलः भक्तपुर दरबार क्षेत्र
३ः३० – ४ः०० बजे – अतिथिहरुको आगमन – दरबार क्षेत्रको मूलढोका
बा“सुरी बाजा र लाखे प्याखंबाट स्वागत
४ः०० – ४ः१० बजे – कार्यक्रमको समुद्‍घाटन प्रमुख अतिथि ज्यूबाट
(पानसमा दिप प्रज्वलित गर्ने, ३२९ बर्ष पुरानो ऐतिहासिक नगरा बजाउने र ठूलो घण्टा बजाउने)
४ः१० – ४ः२५ बजे – साँस्कृतिक झाँकी माक प्याखं प्रदर्शन र दिपावली भक्तपुर दरबार क्षेत्र
४ः२५ – ५ः०० बजे – अतिथिहरुबाट शुभकामना मन्तव्य व्यक्त
५ः०० बजे – साँस्कृतिक झाँकी सहितको सम्पदा पदयात्रा शुरु
तालाक्व (माटोको भाँडा बनाउने बनाउने क्षेत्र)
टौमढी क्षेत्र – (साँस्कृतिक झाँकी (भैल प्याखं) प्रदर्शन)/ दिपावली / नौ बाजा
सुकुलढोका
गोल्मढी – नौ बाजा
दत्तात्रय क्षेत्र – (साँस्कृतिक झाँकी (देवी प्याखं) प्रदर्शन / दिपावली / नौ बाजा
६ः०० बजे – वाकुपति नारायण हुँदै सूर्यमढीमा साँस्कृतिक झाँकी (बाँसुरी बाजा र लाखे प्याखं) प्रदर्शन सहित नेपाल भ्रमण वर्ष २०७६ शुभारम्भ सन्ध्याकालीन साँस्कृतिक सम्पदा पदयात्रा समापन कार्यक्रम
सहभागिता – जन प्रतिनिधिहरु, कार्यालय प्रमुखहरु, भक्तपुर पर्यटन बिकास समिति, पर्यटन व्यवसायीहरु, होटल व्यवसायीहरु, पथ प्रदर्शकहरु, पर्यटन सदभाव संघ, कर्मचारीहरु ।

सन् २०२० को पहिलो दिन जनवरी १ पुस १६ गते निम्नबमोजिमको कार्यक्रम गरी भ्रमण वर्षको स्वागत गर्ने योजना छ ।
नेपाल भ्रमण वर्ष २०७६ शुभारम्भ (1st January 2020)
स्वागत, प्रभातफेरी तथा साँस्कृतिक कार्यक्रम

Welcome, Procession and Cultural Programme

२०७६ पुष १६ गते बुधवार (1st January 2020)

प्रभातफेरी कार्यक्रम स्थलः दत्तात्रय क्षेत्र
७ः०० – ७ः३० बजे – अतिथिहरुको आगमन – दत्तात्रय क्षेत्र
बा“सुरी बाजा र लाखे प्याखं सहित नेपाल भ्रमण बर्ष २०२० को प्रभातफेरी
(दत्तात्रय – ईनाचो – गोल्मढी – सुकुलढोका – टौमढी – नासमना – बंशगोपाल – भार्वाचो – नःपुखु – ईताछें – खौमा – दरवार क्षेत्र)
८ः४५ बजे – भक्तपुर दरवार क्षेत्रको मुल ढोकामा भक्तपुर नगर प्रवेश गर्ने पर्यटकहरुको
पहिलो समूहलाई प्रमुख अतिथि ज्यूबाट स्वागत तथा निःशुल्क पास प्रदान
३२९ बर्ष पुरानो ऐतिहासिक नगरा बाजाबाट नेपाल भ्रमण बर्ष २०२० र अतिथिहरुलाई स्वागत
९ः०० बजे – मञ्च आसन ग्रहण
साँस्कृतिक झाँकी माक प्याखं प्रदर्शन
अतिथिहरुबाट शुभकामना मन्तव्य
साँस्कृतिक झाँकी लाखे प्याखं प्रदर्शन
प्रमुख अतिथिबाट शुभकामना मन्तव्य
साँस्कृतिक झाँकी (देवी प्याखं) प्रदर्शन
१०ः३० बजे – तःपुखु (सिद्ध पोखरी) र नःपुखु (गुह्य पोखरी) मा नेपाल भ्रमण बर्ष २०२० को अवसरमा नौका बिहार उद्घाटन
वर्षभरिकै कार्यक्रमहरुमा यहाँहरुको सक्रिय सहभागिताको लागि हार्दिक अनुरोध गर्दछौं ।

सुनिल प्रजापति
प्रमुख, भक्तपुर नगरपालिका
२०७६ पुस १४ गते, सोमबार

Loading...