सल्टिएन प्रतिपक्षी दलको कलह स् फेरि सर्‍यो कांग्रेस केन्द्रीय कार्य समितिको बैठक

काठमाडौं, ९ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पुस १० गतेका लागि तय गरिएको केन्द्रीय कार्यसमिति बैठक फेरि सरेको छ । वैठक पुस ११ गते बस्ने नेपाली कांग्रेसले जनाएको छ । विभाग गठन, भ्रातृ संस्थाको नेतृत्व, क्रियाशील सदस्यताको नामावली प्रकाशनलगायतका विषयमा सहमति हुन नसकेपछि पुुस १० गतेका लागि बोलाइएको बैठक पुस ११ गतेसम्मका लागि तय गरिएको हो ।

मंसिर २६ देखि बोलाइएको बैठकमा औपचारिक प्रस्तावमा छलफल हुन नसकेपछि विभिन्न समयमा बोलाइएको बैठक स्थगित हुँदै आएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठक पुस ११ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने जानकारी दिए । पटक–पटकको प्रयास व्यर्थ कांग्रेसको आन्तरिक विवाद टुंग्याउने प्रयास असफल भएको छ । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल आ–आफ्नो अडानमा रहेपछि दुई सातादेखि जारी वार्ताले सार्थकता पाउन नसकेको हो ।

पौडेल समूहको सोमबार बसेको बैठकले विधान बाहिर गएर सहमति नगर्न वार्ता समितिलाई निर्देशन दिएको छ । महामन्त्री डा। शशांक कोइराला निवासमा बसेको बैठकले संस्थापन पक्षसँग वार्ताका लागि गठन गरेको कार्यदलका सदस्यलाई विधानभित्र रहेर सहमति खोज्न भनेको हो । ‘विभाग गठनदेखि भ्रातृसंस्थाका विषयमा छलफल भयो । महाधिवेशन सुनिश्चित गर्ने गरी कार्यतालिका सार्वजनिक गर्नुपर्छ,’ कार्यदल सदस्य हृदयराम थानीले भने, ‘पार्टी विधानसम्मत तरिकाले अगाडि बढ्नुपर्छ । नेता पौडेलले पार्टीभित्रका सबै समस्याको समाधान विधानमै रहेर खोज्नुस् भन्नुभएको छ ।’

महाधिवेशन कार्यतालिका सार्वजनिक, नेवि संघ गठन, विभागको पूर्णता र नेपाल तरुण दलको समयावधि ६ महिना थप गर्ने विषयमा विवाद छ । महाधिवेशन कार्यतालिका सार्वजनिक गर्नुपर्ने विषयलाई केन्द्रीय समिति बैठकमा प्रमुख एजेन्डाका रूपमा पेस गर्नुपर्ने माग पौडेल समूहको छ । पौडेल समूहले महाधिवेशनको एजेन्डा नल्याएको भन्दै केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गर्दै आएको छ । पछिल्लो समय भने प्याकेजमै सहमति खोज्नुपर्ने अडान पौडेल पक्षले राखेको छ ।

‘हामी मंसिर मसान्तभित्र महाधिवेशन हुनुपर्छ भन्ने पक्षमा छौं,’ कांग्रेस केन्द्रीय सदस्य कल्याण गुरुङले भने, ‘महाधिवेशनलाई प्रभावित गर्ने गरी विभागको संख्या बढाउने प्रस्ताव स्वीकार्य हुन सक्दैन । नेविसंघ र तरुण दल पनि विधानअनुसार गठन हुनुपर्छ ।’ पौडेल समूहले नेविसंघमा विधानअनुसार सहमति नभए ३२ वर्ष उमेर हद कायम गरेर समिति ल्याउनुपर्ने प्रस्ताव अगाडि सारेको छ । ‘पार्टी्भित्र सबैलाई सम्मान हुने गरी भागबण्डा भयो भने ठिक छ नत्र विधानअनुसार ३२ वर्षमुनिको कमिटी ल्याउनुपर्छ,’ उनले भने, ‘तरुण दलको पनि नयाँ कार्यसमिति ल्याउनु पर्छ । यसको समय सकिसकेको छ ।’

सभापति देउवाले नेवि संघ अध्यक्षमा राजीव ढुंगानाको नाम प्रस्ताव गरेका छन् भने उनी चार जना महामन्त्री बनाउने गरी नेविसंघको पुरानै सांगठनिक संरचनाअनुसार गठन गर्नुपर्ने पक्षमा छन् । अहिलेकै कार्यसमितिलाई निरन्तरता दिन तरुण दलको समयावधि ६ महिना थप्ने प्रस्ताव सभापति देउवाले केन्द्रीय कार्यसमिति बैठकमा पेस गरेका छन् । तरुण दलको समय थप गर्न पौडेल समूह सकारात्मक भए पनि महासचिव भूपेन्द्रजंग शाहीमाथिको कारबाही फिर्ता हुनुपर्ने अडान कायमै छ । देउवा भने शाहीलाई कुनै पनि हालतमा निरन्तरता दिने पक्षमा छैनन् । महासचिवको विषयमा सहमति हुने अवस्था नदेखेपछि पौडेल समूहले नयाँ कार्यसमिति गठन गर्नुपर्ने प्रस्ताव सारेको हो ।

२८ बाट ४१ विभाग संख्या पुर्‍याउने संस्थापन समूहको प्रस्ताव विधानविपरीत भन्दै पौडेल समूहले विरोध जनाएको छ । पौडेल समूहको बहिष्कारपछि स्थगित कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बिहीबारका लागि बोलाइएको छ ।

Loading...