जुम्लापछि काठमाडौंमा सबैभन्दा बढी चिसो , कति छ तापक्रम ?

काठमाडौं, ९ पुस, काठमाडौं । काठमाडौं उपत्यकाको आजको न्यूनतम तापक्रम २.९ डिग्री सेन्टिग्रेडमा झरेको छ । मौसम विज्ञान विभागले बुधबार बिहान गरेको मापनमा यो जुम्लापछिकै सबैभन्दा कम तापक्रम हो । बुधबार बिहान ८ः४५ बजे काठमाडौंको न्यूनतम तापक्रम २.९ डिग्री मापन भएको मौसमविद् सजिना शाक्यले जानकारी दिइन् । सोही समयमा जुम्लाको न्यूनतम तापक्रम भने माइनस ६.५ छ ।

शाक्यका अनुसार, बुधबार बिहान ५ः४५ मा काठमाडौंको तापक्रम ३ डिग्री सेन्टिग्रेड थियो । त्यसको केही समयपछि बिहान ८ः४५ मा मापन गर्दा अझै घटेर २.९ सेन्टिग्रेडमा पुगेको हो । यो काठमाडौं उपत्यकाको यस वर्ष मापन भएको सबैभन्दा कम तापक्रम हो । यसअघि मंगलबार पुस ८ गते काठमाडौंको न्यूनतम तापक्रम ३.२ मापन भएको थियो ।

मौसमविद् शाक्यका अनुसार, काठमाडौं उपत्यकाको तापक्रम अझै घट्दै जाने सम्भावना देखिएको छ । ‘काठमाडौंको न्यूनतम तापक्रम अझै घट्छ । तर शून्यमै पुग्ला या नपुग्ला भनेर अहिले नै अनुमान गर्न भने सकिँदैन’, मौसमविद् शाक्यले भनिन् । महाशाखाको बुधबार बिहानको मौसम मापन विवरण अनुसार, जुम्ला र काठमाडौंपछि दाङमा चिसो छ । त्यहाँको न्यूनतम तापक्रम ३.५ छ । त्यसैगरी, ओखलढुंगामा ४, सिमरामा ६.५ तथा धनकुटा र डडेल्धुराको समान ६.८ डिग्री सेन्टिग्रेड मापन भएको छ ।

Loading...