अपहरित अध्यक्ष, श्रीमतीलाई बीच जङ्गलमै छाडियो

दैलेख, ६ पुस । शनिबार मध्य राति अपहरित दैलेख ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीकी श्रीमती इला मल्ल शाही लाई अपहरणकारीले बीच बाटोमै छाडिदिएका छन् । शनिबार राति १२ बजे २०–२५ जनाको विप्लव समूहका कार्यकताले अध्यक्ष शाही र उनकी श्रीमतीलाई घरबाटै अपहरण गरेर लगेको गाउँपालिका उपाध्यक्ष सुस्मिता सिंहले जानकारी दिएकी छन् । गाउँपालिकाको बजेट दुरुपयोग गरेको भन्दै विप्लव कार्यकर्ताले अध्यक्ष शाहीलाई पहिला नै चेतावनी पत्र दिएको थियो ।

अध्यक्ष शाहीका भाइ हस्तबहादुर शाहीलाई विप्लव समूहले ६ महिनाअघि अपहरण गरेका थिए । तर, हस्तबहादुरलाई भने केही समयपछि नै छाडिएको थियो । विप्लव कार्यकर्ताले घरबाटै अपहरण गरिएका धीरबहादुर शाहीलाई भने अपहरणकारीले अज्ञातस्थलतर्फ लगेका छन् । सँगै अपहरण गरी लगिएकी शाहीको पत्नी इलालाई भने विप्लव कार्यकर्ताले बीच बाटोमा पर्ने जङ्गलमा छाडिदिएका छन् ।

‘शनिबार राति ठाँटीकाँध–२ को श्रीपाटामा रहेको आफ्नै घरबाट अध्यक्ष शाहीलाई अपहरण गरी बिजारेको जङ्गल हुँदै कालीकोटको भर्तातिर लगेको जानकारी मिलेको छ,’ नेकपा विदेश विभाग उपप्रमुख विष्णु रिजालले भने । दैलेखका स्थानीय समेत रहेका रिजालका अनुसार गाउँपालिका अध्यक्ष धीरबहादुर नेकपाका जिल्ला कमिटी सदस्य समेत हुन् । उनका अनुसार दैलेखमा डीएसपी हरि ओली, सुर्खेतमा डीआइजी पूर्णचन्द्र जोशी र काठमाडौंमा गृहसचिव प्रेम राईसँग समन्वय गरी अपहरणबाट अध्यक्ष शाहीलाई मुक्त गराउने पहल भइरहेको छ ।

दैलेखतर्फको लेकमा हिउँ परेकाले दैलेखकै तिलेपाटा र कालीकोटतिरबाट पनि प्रहरी परिचालन गरी अपहरणकारीबाट उद्धारको प्रयास भइरहेको छ । विप्लवका कार्यकर्तालाई राजनीतिक व्यवहार गर्न र अपहरित शाहीलाई अविलम्ब रिहा गर्न रिजालले माग गरेका छन् । राज्यबाट राजनीतिक क्रियाकलापमा प्रतिबन्ध लागेपछि चन्द समूहले यस तहको स्थानीय जनप्रतिनिधिलाई अपहरण गरी लगेको यो पहिलो घटना हो ।

Loading...