राजधानीमा दिउसै गोली हानी निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको हत्या

काठमाडाैं, २३ असाेज । निर्माण व्यवसायी महासंघका अध्यक्षलाई राजधानीमा दिन दहाडै गोली हानी हत्या गरिएको छ । महासंघका अध्यक्ष शरदकुमार गौचनमाथि काठमाडौंको शान्तिनगरमा आज दिउसो गोली प्रहार गरिएको हो ।

गोली लागेर गम्भीर घाइते भएका गौचनलाई तत्काल नजिकै रहेको निजामति अस्पताल लगिएको थियो । मिनभवनस्थित सिभिल अस्पतालमा उपचार गर्दा गर्दै उनको निधन भएको हो ।

गौचनको हत्या कसले किन गरेको हो भन्ने बारे केही पनि थाहा हुन सकेको छैन । प्रहरीले घटनाको अध्ययन गरिरहेको जनाएको छ । सिभिल अस्पतालमा पुर्याइएका गौचनलाई भेटन उनका आफन्त, घरका सदस्य र निर्माण व्यवसायीहरु भेला भएका छन् ।

गौचन बा १३ च ४९४८ नम्बरको प्राडो गाडी चढेर शान्तिनगरस्थित आफनो निवासबाट निस्केका थिए । घरबाट अनामनगरस्थित महासंघ कार्यालय जाने भनेर निस्केका गौचनमाथि बानेश्वरको प्रयाग मार्ग नजिकै गोली प्रहार भएको हो । उनको घर र घटनास्थल करिब ५० मिटरको दुरीमा छ ।

अज्ञात समूहले सुरुमा गाडीमा ढुंगा हानेर चालक अगाडिको शिशा फुटाएका थिए । ढुंगा प्रहार गरी शिशा फुटाइएपछि गाडी रोकिएको थियो । त्यही बेला एकाएक सोही समूहले तीन गोली गौचनमाथि चलाएको बताइएको छ । सो समूहले फुटेको शिशाबाट नै गोली प्रहार गरेको बुझिएको छ । गोली गौचनको टाउकाे, बायाँ काेखा र छातीमा लागेको छ । 

मुस्ताङमा जन्मिएका गौचन डाँफे कन्स्ट्रक्सनका संस्थापक थिए । निर्माण व्यवसायमा लागेको भए पनि उनी अहिलेसम्म विवादमा परेका थिएनन । उनले मुस्ताङबाटै निर्माण व्यवसाय थालेका थिए । उनको कम्पनीले पछिल्लो समयमा ठूला आयोजनाहरुमा ठेक्का पाएको थियो ।

गौचनको परिवार मुस्ताङबाट पोखरामा बसाइँ सरेको छ । पोखरामा आफ्नो व्यवसाय फैलिँदै गर्दा गौचनले नै कास्की निर्माण व्यवसायी संघको स्थापना गरेका थिए । उनले त्यहाँ संस्थापक अध्यक्षका रुपमा काम गरेका थिए ।

परिवारसहित काठमाडौंको शान्तिनगरमा बस्दै आएका गौचनका आमा, श्रीमती, दुई छोरी र एक छोरा छन् । उनी थिए ।
त्यसैगरी काठमाडौं जिल्ला अदालतको नयाँ भवन पनि डाँफे कन्सट्रक्सनले नै बनाएको हो । यस्ता धेरै परियोजना गौचनको कम्पनीले सम्पन्न गरेको थियो ।

 

Loading...