भक्तपुरका अधिकांश औषधी पसल अबैध रूपमा सञ्चालन

 भक्तपुर । भक्तपुर नगरपालिकाले कमलविनायक क्षेत्रमा गरेको औषधि (फार्मेसी) पसलको अनुगमनमा अधिकांश औषधि पसलहरु अवैधरूपमा सञ्चालन भएको पाइएको छ ।

नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा आज कमलविनायक र च्याम्हासिंह क्षेत्रमा भएको औषधि पसलहरुको अनुगमनमा अधिकांश औषधि पसलहरु दर्ता तथा नवीकरण नगरी अवैधरूपमा सञ्चालन भएको पाइएको हो ।

अनुगमनमा हेलो जनस्वास्थ्य फर्मा, विनायक फार्मेसी, च्याम्हासिंह मेडिकल हल, कमलविनायक फर्माले दर्ता नवीकरण नगरेको, फोहर भएको, म्याद नाघेको औषधिहरु छुट्टै स्थानमा भण्डारण नगरी बिक्री गर्ने ठाउँ मै राखिएको पाइएको अनुगमन निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दिए ।

त्यसैगरी साँचो फर्माले नवीकरण नगर्नुका साथै दर्ताभन्दा फरक नामको साइनबोर्डको राखेको, औषधि व्यवस्था विभागको पनि दर्ता नवीकरण नभएको, म्याद नाघेको औषधिसमेत एकै ठाउँमा राखिएको पाइएको उनले जानकारी दिए ।

अनुगमनमा अधिकांश औषधि पसलहरुमा औषधि विभागको अनुमति प्राप्त व्यक्तिले मात्र औषधि बेचविखन गर्नुपर्नमा औषधिसम्बन्धी ज्ञान नै नभएका मानिसले औषधि बिक्री गरेको पाइएको छ ।

Loading...