मुलुककै नमूना विद्यालय बन्ने लक्ष्यमा भीमोदय मावि, बहुवर्षे गुरुयोजना बनाउँदै

चितवन । भीमोदय नमूना माविले बहुवर्षे गुरुयोजना निर्माणको लागि सरोकारहरू बीच बृहत अन्तरक्रिया सम्पन्न गरेको छ । कालिका नगरपालिका– ५ चितवनस्थित विद्यालयलाई सरकारले यसैवर्ष नमुना विद्यालयको रुपमा छनोट गरेको थियो ।

शैक्षिक र भौतिक दुबै क्षेत्रमा अब्बल विद्यालयले प्रदेशसभा सदस्य घनश्याम दाहालको प्रमुख अतिथ्यता र  कालिका नगरपालिकाका प्रमूख खुम नारायण श्रेष्ठको विशिष्ट अतिथ्यतामा अन्तरक्रिया सम्पन्न गरेको हो ।

कार्यक्रममा विद्यालयका संस्थापकहरु, पूर्व विव्यस पदाधिकारी, अगुवा पूर्व विद्यार्थीहरु, स्थानीय जनप्रतिनिधि, नगर शिक्षा अधिकारी, परामर्शदाता, कन्सल्टटेन्ट ईन्जिनियर साथै अभिभावकहरुको उपस्थिति रहेको थियो ।

अन्तरक्रियामा धारणा राख्दै प्रमुख  अतिथि एवं प्रदेशसभा सदस्य घनश्याम दाहालले सार्वजनिक शिक्षाको सुदृढीकरण आजको आवश्यकता भएको बताए । पछिल्लो दिनमा सार्वजनिक विद्यालयहरुले अभूतपूर्व सुधार गर्दै गएका भन्दै दाहालले सो अभियानमा भीमोदय माविलेसमेत इट्टा थप्न सफल भएको बताए । आफ्नो प्रदेशको शान भीमोदय मावि भएको भन्दै उनले  यसको विकासमा सकेसम्म आफुले सघाउने प्रतिबद्धता व्यक्त गरे ।

यसैगरी कालिका नगरपालिकाका प्रमुख खुम नारायण श्रेष्ठले भीमोदय मावि नगरको मात्रै नभइ मुलुकै नमूना विद्यालय बनेको भन्दै यसको सुधार र विकासका लागि नगरले सबैखाले सहयोग गर्ने बताए ।


कार्यक्रममा इन्जिनियर ईस्वीराज मैनालीले प्राविधिक डिजाइन बारे धारणा राखेका थिए । पूर्व विद्यार्थी अशोक आचार्यलगायतले विद्यालयको शैक्षिक सुधारका लागि सुझाब दिएका थिए ।

विद्यालयका प्रधानाध्यापक डा. हरिप्रसाद कँडेलले नमुना विद्यालयको योजना तर्जुमा सम्बन्धमा धारणा राख्दै विद्यालयको एकमात्रै लक्ष्य गुणस्तरीय र सीपयुक्त सिकाइ रहेको स्पष्ट पारेका थिए ।

सरकारले उक्त वहुवर्षे योजनाको लागि गुरुयोजनामा रहेका स्वीकृत योजना अनुसार निरन्तर बजेट उपलब्ध गराउने छ । विद्यालयको प्राविधिक डिपिआर तयार गर्न काठमाडौंस्थित इन्जिनियरको घर भन्ने  कन्सल्टटेन्ट संस्थाले स्वीकृति पाएको छ । उक्त संस्थाले आफ्नो कार्य प्रारम्भ गरिसकेको छ ।

विद्यलामा अब नमूना गुरु योजना अन्तर्गत अलग्गै प्रशासनिक ब्लक, छात्रावास, क्याण्टीन, स्वास्थ्य सेवा कक्ष, ल्याबोरेटरी, म्युजियम, अडिटोरियम हल, पुस्ताकालय, आइसीटी ल्याब, भाषा ल्याब, सुविधाजनक कक्षाकोठाहरु, खेल मैदान, बृहत घेराबार, बाल बगैँचा, खानेपानी ,वाश सौचालय, रेष्टरूम, कृषिको ग्रीनहाउस टनेल रहने छ ।

यसैगरी,  ईसिडी ब्लक, संगीत र नृत्य शिक्षक, स्टाफ नर्स, खेल प्रशिक्षक, सुरक्षा गार्ड, आयालगायतको व्यवस्था हुने प्रअ कँडेलले जानकारी दिए । उनका अनुसार विद्यालयमा  शिक्षकहरुको प्रोत्साहनका कार्यक्रम पनि सञ्चालन हुनेछन् ।

हाल सम्म शिक्षा, व्यवस्थापन, विज्ञान र कृषि  कार्यक्रम रहेकोमा विद्यालयमा आगामी वर्षवाट कक्षा ११ मा शिक्षा तर्फ पनि विज्ञान, कानून संकाय र पत्रकारिता बिषय थप गर्ने योजना रहेको छ ।

आगामी वर्ष विद्यालयको स्वर्णजयन्ति वर्ष समेत भएकोले विद्यालय सबैको ध्यान आकृष्ट गर्ने योजना सहित जुटेको छ ।

भीमोदय मावि चितवनको अग्रणी शैक्षिक गन्तव्य भइसकेको छ । पछिल्लो समय यस विद्यालयको छवि देशभर नै फैलिएको छ । आम शिक्षक, विद्यार्थी र अभिभावकहरु विद्यालयको मौजुदा प्रगति र परिवर्तनको लागि प्रमुख नेतृत्वकर्ता विद्यालयको वर्तमान  प्रधानाध्यापक डा. हरिप्रसाद कंडेल नै रहेको बताउछन् । डा. कँडेल यसवर्षको उत्कृष्ट प्रधानाध्यापकको रुपमा समेत पुरस्कृत भइसकेका छन् ।

विद्यालयले गत शनिवार आफ्ना ५४ जना  स्टाफलाई ब्रिटिश काउन्शिलको प्रशिक्षक मार्फत होल स्कूल अप्रोच तालिम दिएको थियो । विद्यालयका शिक्षक कर्मचारीहरु कर्मी माहुरी जस्तै सक्रिय रहेका प्रअ कँडेलको भनाइ देखिन्छ ।

 शहरबाट भित्र रहेर पनि मोसफलमा भीमोदय मावि वास्तवमै  सामुदायिक माविहरुमा अब्बल रहेको छ । सुधार सम्भव छ र गर्न चाहे हुन्छ भन्ने उदाहरण भीमोदय माविको पछिल्लो ४ र ५ वर्षको सुधारबाट सबैले सिक्न सकिन्छ । यसै वर्षदेखि बेलायतको सरकारी विद्यालयसँग भीमोदयले पार्टनरशिप कार्यक्रम संचालन गर्ने अवशर प्राप्त गर्न थालेको प्रअ कँडेलले जानकारी दिए ।

Loading...