पार्टी क्रियासिल बनाउन उच्च तहका नेकपा नेताहरुसँग सघन छलफल: प्रचण्ड

काठमाडौं, २२ मंसिर । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी क्रियासिल बनाउन उच्च तहका नेकपा नेताहरुसँग सघन छलफल गरिरहेका छन् । सोमबार पार्टी सचिवालयको बैठक डाकेका प्रचण्डले नेताहरुसँग शनिवार र आइतवार विहानैदेखि छलफल शुरु गरेका छन् । आइतवार विहानै नेकपा बरिष्ठ नेता माधवकुमार नेपालसँग आफ्नै निवासमा २ घण्टा छलफल गरेका छन् भने शनिवार महासचिव बिष्णु पौडेल र सचिवालय सदस्य इश्वर पोखरेलसँग छलफल गरेको स्रोतले बताएको छ ।

पार्टी एकताका बाँकी काम टुंग्याउँन र नेकपा स्थायी समितिको बैठक बोलाउने तयारीमा प्रचण्ड जुटेका छन् । नेकपाभित्र ३२ विभाग छन् । विभागका सदस्यहरुको नाम टुंग्याउने गरी प्रचण्डले छलफल गरेका छन् । विभागमा पूर्वएमालेबाट २० र पूर्वमाओवादीबाट १५ जना सदस्य रहने पूर्वसहमति नै छ ।

लामो समयदेखि बस्न नसकेको पार्टी स्थायी कमिटीको बैठक बोलाउने र बामदेव गौतमलाई औपचारिक उपाध्यक्ष बनाउने गरी प्रचण्डले पहल थालेका छन् । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि निरन्तर सम्वाद गरिरहेका प्रचण्डले ६ महिने कार्ययोजना पनि तयार पारेका छन् । सचिवालय बैठकबाट स्थायी कमिटीमा लिने गरी कार्ययोजन तय भएको उनी निकट नेताले बताएका छन् ।

सोमबार बस्ने सचिवालय बैठकले स्थायी कमिटी बोलाउने निर्णय गर्ने भएको छ भने पार्टीभित्र लामो विवादका रुपमा रहेको पोलिटब्यूरो पनि गठन गर्ने गृहकार्य शुरु भएको छ । अध्यक्षद्धयले रुचि नदेखाएपछि यसअघि गठन गर्ने भनिएको पोलिटब्यूरो गठन हुन सकेको थिएन ।

Loading...