सागको पाँचौ दिन, १७ खेलमा प्रतिस्पर्धा हुँदै

काठमाडौँ १९ मंसिर । १३ औँ साग अन्तर्गत पाँचौँ दिन आज बिहीबार विभिन्न १७ खेलमा प्रतिस्पर्धा हुँदैछ । चौथो दिनको सम्पूर्ण नतिजा सकिँदा पदक तालिकाको दोस्रो स्थानमा रहेको नेपाल आज आफुलाई अग्रस्थानमा राख्ने योजनामा छ । नेपालले चौथो दिन २९ स्वर्ण जितेको थियो । नेपाल दोस्रो स्थानमा रहँदा ३७ स्वर्ण जितेको भारत पदक तालिकाको शीर्ष स्थानमा छ ।

सागमा फुटबल, क्रिकेट, एथ्लेटिक्स, आर्चरी, बास्केटबल, ब्याडमिन्टन, टेबलटेनिस, तेक्वान्दो, टेनिस, गल्फ, ह्यान्डबल, कबड्डी, पौडी, सुटिङ, बिच भलिबल, भारोत्तोलन, र उसुको प्रतिस्पर्धा हुनेछ । खेलहरु काठमाडौं, पोखरा र जनकपुरमा हुनेछन् । सागको महत्वपूर्ण विधाको रुपमा रहेको फुटलमा आज महिलातर्फ नेपालले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ । खेल दिउँसो २ः०० बजे पोखरा रंगशालमा हुँदैछ । पुरुष फुटबलतर्फ भुटान र माल्दिभ्सबीच पहिलो खेल हुनेछ । दोस्रो खेलमा श्रीलंकाले बंगलादेशको प्रतिस्पर्धा गर्नेछ ।

क्रिकेट अन्तर्गत टीयू मैदानमा नेपालले भुटानसँग खेल्दैछ । खेल बिहान ९ बजे सुरु हुनेछ । दोस्रो खेलमा माल्दिभ्सले श्रीलंका यू–२३ सँग खेल्ने छ । आजको खेलमा नेपाललाई फराकिलो जित निकाल्दै धेरै रेकर्डहरु राख्ने अवसर छ । किनभने नेपाल भुटानभन्दा बलियो टोली हो । महिला क्रिकेटमा बंगलादेशले माल्दिभ्सको सामना गर्नेछ । उसुमा बिहीबार १८ स्वर्णको लागि प्रतिस्पर्धा हुँदैछ । जसमा पुरुष र महिलातर्फ ६–६ सान्डा –फाइट हुँदैछ । जम्मा २२ स्वर्ण रहेको उसुको अन्तिम दिन बिहीबार सम्पूर्ण विधाको स्वर्ण छिनोफानो हुनेछ ।

पौडीः आजबाट सुरु हुन लागेको प्रतियोगिताको महत्वपूर्ण विधाको रुपमा रहेको पौडीमा नेपालले धेरै पदक जित्ने योजना बनाएको छ । बिहीबार पौडीको पहिलो दिन नेपालले ८ ईभेन्टमा प्रतिस्पर्धा गर्नेछ । सातदोबाटोस्थित स्विमिङ पुलमा नेपालले पुरुष २ सय मिटर फ्रि–स्टिाइल, महिला २ सय मिटर फ्रि–स्टिाइल, पुरुष २ सय मिटर बे्रस्टस्ट्रोक, महिला २ सय मिटर बे्रस्टस्ट्रोकमा खेल्नेछ ।

यसैगरी पुरुष १ सय मिटर बटरफ्लाई, महिला १ सय मिटर बटरफ्लाई, पुरुष ४ गुणा १ सय मिटर फ्रि–स्टिाइल र महिला ४ गुणा १ सय मिटर फ्रि–स्टिाइलमा नेपालले प्रतिस्पर्धा गर्नेछन् । यस्तै, महिला २ सय मिटर फ्रि–स्टिाइलमा भने नेपाली पौडी खेलाडी गौरिका सिंहले प्रतिस्पर्धा गर्ने निश्चित भएसकेको छ । बाँकी इभेन्टमा कुन खेलाडीले प्रतिस्पर्धा गर्ने भोलि टुङ्गो लाग्नेछ ।

सुटिङः नेपालले हालसम्म स्वर्ण जित्न नसेकेको विधा हो सुटिङ । सुटिङतर्फ महिला तथा पुरुषतर्फ दुई–दुई विधामा फाइनल खेल आज हुनेछ । महिलातर्फ थ्रि बाई ४० तर्फ फाइनल हुनेछ भने एयर राइफल पुरुषतर्फ फाइनल खेल हुँदैछ । आजको खेलमा भने नेपालले कुनै एक पदक जित्ने लक्ष्य राखेको छ । एथ्लेटिक्सः एथ्लेटिक्सतर्फ एथ्लेटिक्समा १४ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । दशरथ रंगशालामा बिहान ९ बजेबाट सुरु हुने जसमा ६ खेलको फाइनल चरणको खेल हुनेछ । एथ्लेटिक्सको केही विधामा नेपालाई स्वर्णको आशा रहेको छ ।

भारातोलनः भारोतोलनतर्फ तीन महिला र दुई महिला तर्फ गरि कुल ५ स्पर्धा हुनेछ । बिहान १० बजे महिला तर्फ ४५ केजी, १२ बजे पुरुषको ५५ केजी, दिउँसो २ बजे महिलाको ४९ केजी, ४ बजे पुरुष ६१ केजी र ६ बजे महिलाको ५५ केजीमा प्रतिस्पर्धा हुनेछ । सबै खेल पोखरा रंगशालाको कभर्ड हलमा हुनेछ । टेबल टेनिसः टेबल टेनिसतर्फ बुधबार नेपालले मेन्स डबल्स र मिक्स डबल्समा गरि दुई कास्य पदक हात पारेको थियो । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा बिहीबार विभिन्न स्पर्धामा खेल हुनेछ । जसमा नेपालले पदको अपेक्षा गरेको छ ।

ह्याण्डबलः ह्याण्डबलतर्फ समूह ‘ए’ को पहिलो खेलमा पुरुषतर्फ नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्दा माल्दिभ्स महिला टिमले पाकिस्तान महिला टिमसँग खेल्ने छ । यस्तै समूह ‘बी’ तर्फ पुरुषमा बंगलादेश र माल्दिभ्स तथा नेपाल महिला टिम र श्रीलंकासँग खेल्ने छ । बास्केटबलः साग अन्तर्गत बास्केटबल आजबाट सुरु हुनेछ । आज दुवै महिला र पुरुषतर्फको खेल हुनेछ । पुरुष र महिला दुवैमा नेपालले बिहीबार बंगलादेशसँग खेल्नेछ । पुरुषको अर्को खेलमा भुटान श्रीलंका खेल्नेछ ।

Loading...