मैले देखेकै छैन असम्भव भन्ने कुरा

विनिता रञ्जित
प्रधानाध्यापक
पञ्चकन्या आधारभूत विद्यालय, बालुवाटार, काठमाडौं

 

समग्र विद्यालयको बारेमा बताइदिनुस् ?
यो विद्यालय २०१७ सालमा स्थापना भएको हो । तत्कालीन वडाध्यक्ष स्व. भक्तबहादुर खड्काले घरको पिँडिमा बच्चाहरु खेलेको देखेपछि यिनीहरुलाई पढाउन पर्ने रहेछ भनेर एकजना शिक्षक बोलाएर घरमै आँगनबाटै पढाउन शुरु गर्नुभएको विद्यालय हो । विद्यार्थी बढ्दै गएपछि नजिकैको वैष्णदेवी मन्दिरको पाटीमा १ देखि ३ कक्षासम्म सञ्चालन गरियो । बिस्तारै यसलाई ४, ५ कक्षा गर्दै लगियो । २०४५ सालमा खड्काले नै तीनकोठे टहरो बनाएर २ रोपनी जग्गामा सारिदिनुभयो । त्यसपछि ६, ७ गर्दै हाल ८ कक्षासम्म सञ्चालन भइरहेको छ । तीनतिरैबाट बाटो भएकाले होला सायद हाल विद्यालयसँग २ रोपनीमा १४ आना मात्रै जग्गा छ । हाल ३ सयबढी विद्यार्थी र उनीहरुका लागि १४ जनाको शिक्षक कर्मचारीको समूह कार्यरत छ ।

विद्यालयको सिकाइ उपलब्धिको अवस्था के छ ?
हरेक कक्षाहरुको सिकाइ उपलब्धि ८० प्रतिशत माथि रहेको छ । गएका वर्षहरुभन्दा हरेक वर्ष केही प्रतिशत बढाउने भनेर हामी लागिरहेको अवस्था छ । त्यो नतिजामा पनि देखिरहेको अवस्था छ । सबै शिक्षकहरु शिक्षण सिकाइ सुधारमै केन्द्रित रहँदै आउनुभएको छ । पढाइ अवरुद्ध नहोस् भनेर नतिजासमेत शनिबार मात्रै घोषणा गर्ने गरेका छौं । सिकाइ राम्रो हुन थालेपछि घरेलु बाल मजदूरबाहेक स्थानीय जनताका छोराछोरी पनि विद्यालयप्रति आकर्षित हुन थालेका छन् । हाल ३० प्रतिशत बालबालिका स्थानीय छन् । पहिले ‘डिस्टर्ब’ भयो भनेर यो स्कूल हटाउनुपर्छ भन्ने स्थानीयहरु पनि अहिले विद्यालयलाई १० कक्षासम्म पु¥याउनु पर्छ भन्न थाल्नुभएको छ ।

सिकाइ सुधारका लागि अन्य विद्यालयभन्दा के–के फरक अभ्यास गर्नुभएको छ ?
यो विद्यालयमा नर्सरी, कक्षा १ र २ सम्म कक्षा शिक्षण गरिएको छ । कक्षा शिक्षणले पनि शिक्षण सिकाइलाई धेरै नै फरक पार्दो रहेछ । नर्सरीदेखि कक्षा ५ सम्म पूर्ण अंग्रेजी माध्यममा पढाइन्छ । ६, ७ र ८ कक्षामा विज्ञान, कम्प्यूटर, ऐच्छिक गणित र अनिवार्य गणित गरी चार विषय पनि अंग्रेजी माध्ययममै राखेका छौं । अतिरिक्त क्रियाकलापलाई बढी जोड दिएर सिकाइने गरिएको छ । परियोजना कार्यहरुमा विशेष सक्रिय बनाउँदै आएका छौं । शिक्षण सिकाइलाई पाठयपुस्तकमा सीमित नराखी विभिन्न स्थानको सिकाइ भ्रमण गरिँदै आएका छौं । शैक्षिक र खोज सामग्री प्रयोगलाई विशेष ध्यान दिँदै आएका छौं । विद्यालयले हरेक शिक्षक र विद्यार्थीको जन्मदिन मनाउने गरेको छ । नर्सरी, १ र २ कक्षाका विद्यार्थीका लागि स्टेशनरी विद्यालयबाटै व्यवस्था गरेका छौं । यस वर्षदेखि शुद्ध ह्याण्ड–राइटिङका लागि मात्रै छुट्टै कपिको व्यवस्था गरिएको छ । हरेक हप्ता प्रत्येक विषयमा १० वटा शब्द लेखिरहन दिइन्छ । उनीहरुले विषयगत रुपमा त्यही शब्द ५ दिन लेखिरहन्छन् । छैटौं दिनमा त्यही शब्दहरुको परीक्षा लिने गर्छौं । यसरी ५ दिन हरेक विषयको १० शब्द लेखिरहँदा उनीहरुलाई ती शब्द कण्ठै हुने गर्छ । यसरी विद्यार्थी हरेक हप्ता प्रत्येक विषयको कम्तिमा १० नयाँ शब्द जान्दछन् । हरेक कक्षाकोठा शैक्षिक सामग्रीयुक्त छ । एउटा सुन्दर बाल उद्यान झैं बनाइएको छ कक्षाकोठा । बालकेन्द्रित शिक्षण सिकाइ गर्ने गरिएको छ । ६ देखि ८ सम्म कम्प्यूटर कक्षा सञ्चालन हुने गर्छ । सुन्दर लाइब्रेरीको व्यवस्था गरेका छौं । विद्यालयमा एउटा कार्यक्रम हल पनि छ । प्रारम्भिक बालविकास (इसिडि)का शिक्षकलाई सरकारले ६ हजार रुपैयाँ मात्रै दिन्छ । त्यसमा विद्यालयले ४ हजार थपेर १० हजार दिने गरेको छ । निजी स्रोतमा शिक्षक राखिएको छ, भएकै स्रोतको अधिकतम् परिचालन गरेर ।

यो सुधारको प्रेरणा कसरी पाउनुभयो र कहिलेदेखि शुरु गर्नुभयो ?
हामीमा यस्तो गर्नुपर्छ है भनेर ‘सेल्फ मोटिभेसन’ छ । म प्रअ भइनसक्दै मैले यी सुधारको सपना देखेकी थिएँ । तर, हात–खुट्टा बाँधिएका अवस्थामा झैं थिए । स्वतन्त्र रुपमा काम गर्न पाइएको थिइन । जब म २०७१ साउनदेखि प्रअ भएँ, तब मैले शिक्षक साथीहरुलाई राखेर सल्लाह गरेँ । विद्यालय राम्रो बनाउनु पर्छ र हामीले नै बनाउने हो । बाहिरको मान्छे आएर बनाइदिँदैन । अलि मिहिनेत गरौं । यसमा तपाईँहरुको के छ भिजन ? भनेर सोधेँ । पछि शिक्षकहरुले नै धेरै योजनाहरु ल्याउनुभयो । कक्षाहरुको व्यवस्थापन, शैक्षिक सामग्री निर्माण यसरी गरौं भन्नेलगायतका धेरै कुरा उहाँहरुले नै आफैं ल्याउनुभयो । पहिले विद्यालयको राम्रो खेल मैदान नै थिएन । खाल्डैखाल्डो थिए । सबैभन्दा पहिले ग्राउण्डमा टायल बिच्छ्यायौं । त्यसपछि भित्ताहरुमा रङ्गरोगन ग¥यौं । अन्य राम्रा विद्यालय हेरेर, युट्युबमा खोजेर कसरी बालमैत्री विद्यालय बनाउने भन्दै सुधार गर्दै गयौं । पछि भित्ताहरुमा बालमैत्री सन्दैशमुलक चित्रहरु बनायौं । हामी आफैंमा गर्नुपर्छ भन्ने लागेर शिक्षकहरु सबै मिलेर क्रमशः सुधार गर्दै आयौं ।

शुरुमा सुधारका लागि आर्थिक स्रोतको कसरी व्यवस्थापन गर्नुभयो ?
शुरुमा ग्राउण्डमा टायल बिच्छ्याउन जिविसबाट सहयोग माग्यौं । भित्ताहरुमा रङ्गरोगन गर्न वडा कार्यालयको सहयोग मागियो । हामी विद्यालय सुधार गर्न भनेपछि शिक्षकहरुले आफैँपनि सहयोग उठाउँछौं । ३/४ वर्षका साना–साना बच्चाहरुले थोरथोरै भात, चिउरा ल्याउने, कसैले ल्याउँदै नल्याउने, नल्याएकाले हेरेर बस्ने, ती कलिला बच्चाले चिउरा चपाएको हेर्नै नसकिने, रुन मन लाग्ने । विव्यस सदस्य हुनुहुन्छ दुर्गेशनन्दनी भट्टचन्द, उहाँ एकदमै मनकारी । जाडो आयो कि उहाँ सबै बच्चालाई स्विटर ल्याएर बाँड्नुहुन्छ । पानी प¥यो भने रेनकोट प्रदान गर्नुहुन्छ । ‘यसरी भएन, म १० हजार दिन्छु, जाउलो खुवाउनोस्,’ भन्नुभयो उहाँले । १० हजार रुपैयाँले मात्रे पुग्दैन भनेर छलफल गर्दा सबै शिक्षकहरुले ‘हामीले पनि हालौंन’ भन्नुभयो । कसैले ५, कसैले ३ कसैले २ र १ हजार रुपैयाँ गरी सकेको सहयोग गर्नुभयो । यसरी एउटा कोष नै बनायौं । जहाँ ५०÷६० हजार रुपैयाँ जम्मा गर्न सफल भयौं । २०७१ सालदेखि नर्सरी, केजी र कक्षा १ सम्म हामीले निःशुल्क जाउलो कार्यक्रम शुरु ग¥यौं । पछि विद्यालयमा आउनेहरुसँग समेत ‘बच्चालाई जाउलो खुवाउन सहयोग गर्नुस् न’ भनेर समेत सहयोग माग्न थाल्यौं । स्थानीयले पनि तिथि श्राद्धमा सहयोग गर्न थाल्नुभयो । गएको वर्षदेखि जेन्टल रेन्ट नेपाल नामक संस्थाले दिवा खाजामा पूर्ण सहयोग गर्दै आएको छ । त्यसपछिका सुधारका कार्यक्रमहरुमा भने मैले बाहिर सहयोग मागेको छैन । विद्यालयको सटरको भाडाबाटै व्यवस्थापन गर्दै आएका छौं । प्रारम्भिक बालविकास (इसिडि)का शिक्षकलाई सरकारले ६ हजार रुपैयाँ मात्रै दिन्छ । त्यसमा विद्यालयले ४ हजार थपेर १० हजार दिने गरेको छ । निजी स्रोतमा शिक्षक राखिएको छ, भएकै स्रोतको अधिकतम् परिचालन गरेर ।

हरेक कक्षा शैक्षिक सामग्रीले सजिएका छन् । त्यसको व्यवस्थापन कसरी भयो ?
सबै हाम्रै शिक्षकहरु आफैंले स्थानीयस्तरमै उपलब्ध स्रोत–साधन परिचालन गरेर निर्माण गर्नुभएको हो । हरेक वर्ष चैत अन्तिम हप्ता त्यसलाई फेर्दै आएका छौं । नर्सरीमा पढाउने एकजना शिक्षक मन्टेश्वरी तालिम प्राप्त हुनुहुन्छ । उहाँको आइडिया भयो । अन्य शिक्षकहरु पनि रचनात्मक हुनुहुन्छ । गरौं भनेपछि गरौं–गरौं । अलिकति आइडिया शिक्षकहरु र केही युट्युवबाट पनि सिक्यौं । २÷४ राम्रा विद्यालय पनि हेरियो । पछि, यसो गर्नुपर्दो रहेछ भनेर सबै लागेर बनाइएको हो । प्रत्येक विषयका शिक्षकले शैक्षिक सामग्री बनाएर कक्षा शिक्षकलाई दिने र उहाँले विद्यार्थीको समेत सहयोगमा टाँस्ने÷सजाउने गर्नुहुन्छ । हामी पुस्तकमा मात्रै सीमित नभई शैक्षिक सामग्रीमा आधारित भएर खोज विधिबाट सिकाउँछौं । समूहमा कार्य गराउँछौं । विद्यार्थीलाई समेत खोज र परियोजना कार्य अनिवार्य गरेका छौं । बच्चाहरुलाई ठूला डेस्क–बेञ्चमा बस्न साह्रै गाह्रो भयो भनेर विद्यार्थीको उमेर अनुसारको बालमैत्री रङ्गीन डेस्क–बेञ्चको व्यवस्था गरिदिएका छौं ।

एउटा कक्षाकोठामा दिनभर कस्ता–कस्ता फरक अभ्यासहरु गतिविधि हुने गर्छन् ?
बिहान प्रार्थनापश्चात् शिक्षक कक्षाकोठामा छिरेपछि विद्यार्थीलाई २ मिनेट ध्यान गराउनुहुन्छ । त्यसपछि कक्षामै सरस्वती बन्धना गाउन लगाउनुहुन्छ । त्यसपछि सिकाइको काम शुरु हुन्छ । रटाउने, घोकाउने भन्दापनि समूह बनाएर छलफलको विधिद्वारा सिकाउने काम शुरु हुन्छ । समूहकार्य गरिसकेपछि विद्यार्थीले यो भनेको यो हो भनेर उठेर सुनाउँछन् । पढेर भन्दा गरेर बुझेर सिक्ने गर्छन् विद्यालयमा विद्यार्थीले । हामीकहाँ क्रियाकलापमा आधारित शिक्षण सिकाइ हुँदै आएको छ ।

अतिरिक्त क्रियाकलापमा केमा बढी केन्द्रित गर्नुभएको छ ?
हरेक शुक्रबार विद्यालयमा अतिरिक्त क्रियाकलाप हुने गर्छ । विद्यालयमा नृत्य शिक्षक नै राखिएको छ । विद्यार्थी हरेक विधामा उम्दा छन् । विद्यालयमै तेक्वान्दो कक्षा शुरु गरिदिएका छौं । विद्यार्थीले विभिन्न प्रतियोगितामा उत्कृष्ट नतिजा हासिल गरिरहेका छन् ।

शिक्षण पेशा कहिलेदेखि शुरु गर्नुभयो ? विद्यालय सुधारको प्रेरणा कसरी जाग्यो ?
मैले २०४५ चैतदेखि यही विद्यालयबाट शिक्षण पेशा शुरु गरेकी हुँ । पहिले मैले अंगे्रजी विषय अध्यापन गराउथेँ । पहिले विद्यालय ५ कक्षासम्म सञ्चालनमा थियो । २०६४ सालमा सहायक म प्रअ बनेँ । एउटा शिक्षक मात्रै रहँदा कम जिम्मेवारी हुन्थ्यो । १० बजेर आएर ४ बजेसम्म पढाए पुग्थ्यो । सहायक प्रअ भएपछि प्रशासनिक जिम्मेवारी पनि थपियो । अझ, प्रधानाध्यापक बनेपछि त सबै जिम्मेवारी काँधमा आएको छ । विद्यालयकै आमा बनेर बस्नुपरेको छ । विद्यालयको शैक्षिक, भौतिक, आर्थिक सबै जिम्मेवारी भयो । हामी आफ्ना बच्चाहरुलाई निजी विद्यालयमा भर्ना गर्छौं । सरकारीलाई नपत्याएर त होला नि । निजीमा होमवर्क नदिए हामी दौडेर कराउन जान्छौं । सरकारीमा त्यो हुँदैन । फेरि ‘गरीबका बच्चा पढ्ने’ र ‘हुनेखानेका बच्चा पढ्ने’ भनेर विभेद किन ? त्यसपछि दुईखाले उत्पादन हुनु हुँदैन । विभेद गर्न हुँदैन । निजीमा र सामुदायिक विद्यालयमा फरक हुनुहुँदैन भन्ने लाग्यो । अनि विद्यालय सुधार गर्ने प्रेरणा आयो । आफ्ना छोराछेरी जस्तै सम्झेर सिकाउन शुरु गरेँ । निजीले बच्चाहरुलाई जे सिकाएर पढाएर ँपठाएका हुन्छन्, शुरुमा हामीले विद्यालयमा पनि त्यही सिकाउने गतिविधि ग¥यौं ।

विद्यालयको आगामी योजना के छन् ?
म त पाँच वर्षभित्र विद्यालयलाई नमूना विद्यालय बनाउन भनेर लागेको छु । हरेक कक्षालाई मल्टिमिडियायुक्त बनाउने योजना रहेको छ । पाँच वर्षभित्र पूरा गर्ने लक्ष्य पनि विद्यालयले लिएको छ । एउटा स्मार्ट कक्षा बनाउने योजना पनि छ । हरेक कक्षाको डेस्क–बेञ्चलाई अझै बालमैत्री बनाउने योजना छ । हरेक कक्षाको सिकाइ उपलब्धि ९० प्रतिशतभन्दा माथि पु¥याउने लक्ष्य छ । सबैभन्दा ठूलो कुरा ‘सेल्फ मोटिभेटेड’ हुनुपर्दो रहेछ । ‘म गर्छु–गर्छु’ भन्ने भावना जाग्नुपर्दो रहेछ । चाहना भए बहानाहरु आफैं भाग्दारहेछन् । जागिरे मानसिकताबाट प्रअमाथि उठ्नुपर्दो रहेछ । विद्यार्थीलाई छोराछोरी जस्तै मान्नुपर्दो रहेछ । असम्भव केही पनि छैन ।

महिला प्रअ भएकै कारण केही समस्या भोग्नुभएको छ कि ?
केही समस्या पर्दोरहेछ । कार्यालयहरुमा गएर डिल गर्दा केही न केही समस्या पक्कै आउने रहेछ । कसैले सम्मान गर्छ, ठीकै छ । कसैको त नजर नै गलत हुने । पुरुष प्रअलाई त चिया खान जाउँ भनेर जान पनि सजिलो । महिला प्रअले ‘चिया खान जाउँ’ भन्दा ‘त्यो म्यामले चिया खान जाऊ भन्नुभयो’ जस्तो हुने । हाम्रो विद्यालयमा एकजना मात्रै पुरुष शिक्षक भएकाले खासै समस्या छैन । बाहिर पनि समस्या नै त होइन, कहिलेकाहीँ त्यस्तो महशूस मात्रै हुने गर्छ । त्यसो त, पुरुषलाई भन्दा महिलालाई कुरा गर्न सहज पनि हुन्छ । हामीहरुलाई ‘तिम्रो विद्यालयको काम हुँदैन’ भन्न पनि गाह्रो हुन्छ । विद्यालयहरुमा पुरुषभन्दा महिला प्रअ हुँदा ठीक हो जस्तो लाग्छ । व्यवस्थापकीय क्षमता महिलामै बढी हुन्छ ।

एउटा राम्रो विद्यालय बनाउन प्रअको कस्तो भूमिका हुन्छ ?
एकदमै ठूलो भूमिका हुन्छ । तर, प्रअ ‘रोलमोडल’ बन्नैपर्छ । भिजनचाहिँ हुनै पर्छ । एक्लैले गर्न सक्ने त केही होइन तर भिजन छ र टिमलाई ‘कन्भिन्स’ गर्न सक्यो भने सुधार गर्न समस्या छैन । तर, एउटा शिक्षकले मात्रै चाहेर सुधार सम्भव छैन । गर्ने/नगर्ने प्रअले नै हो । सबैभन्दा ठूलो कुरा ‘सेल्फ मोटिभेटेड’ हुनुपर्दो रहेछ । ‘म गर्छु–गर्छु’ भन्ने भावना जाग्नुपर्दो रहेछ । चाहना भए बहानाहरु आफैं भाग्दारहेछन् । जागिरे मानसिकताबाट प्रअमाथि उठ्नुपर्दो रहेछ । विद्यार्थीलाई छोराछोरी जस्तै मान्नुपर्दो रहेछ । असम्भव केही पनि छैन । मैले देखेकै छैन असम्भव भन्ने कुरा । चाहना हुनुप¥यो । म प्रअ हुनसाथ विद्यालयलाई यस्तो बनाउँछु भनेर सपना देखेकी थिएँ । सोही अनुसार कार्ययोजना बनाएँ, अहिले नतिजा तपाईँहरु सामु छ ।

प्रस्तुति : रोशन क्षेत्री गाउँले