भावी प्रधानन्यायाधीशका लागि संवैधानिक परिषद्‌मा ६ जनाकाे नाम सिफारिस

काठमाडौँ । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि न्याय परिषद्ले सर्वोच्च अदालतका ६ जना न्यायाधीशको नाम संवैधानिक परिषद्‌मा पठाएको छ। आउँदो चैत १८ गते उमेरहदका कारण प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत अवकाशमा जाँदैछन्।

त्यसपछि रिक्त हुने पदका लागि सर्वोच्चकी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लसहित कुमार रेग्मी, हरिप्रसाद फुयाल, डा. मनोजकुमार शर्मा, डा. नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम सिफारिसका लागि पठाइएको परिषद् स्रोतले जनाएको छ।

नेपालको संविधानको धारा १२९ अनुसार सर्वोच्च अदालतका न्यायाधीशमा कम्तीमा तीन वर्ष काम गरेको व्यक्ति प्रधानन्यायाधीश बन्न योग्य हुन्छ। सोही आधारमा योग्यता पुगेका न्यायाधीशहरूको नाम परिषद्ले पठाएको हो।

अब प्रधानमन्त्री नेतृत्वको संवैधानिक परिषद्ले बैठक बसेर प्रधानन्यायाधीशका लागि एक जनाको नाम सिफारिस गर्नेछ। त्यसपछि उक्त नाम संसदीय सुनुवाइका लागि संघीय संसदमा पठाइनेछ र सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ।

संविधानको धारा २८४ अनुसार पद रिक्त हुनुभन्दा एक महिनाअघि नै नियुक्तिका लागि सिफारिस गर्नुपर्ने भए पनि यसपटक सो समयसीमा नाघिसकेको छ। ढिलाइ भएमा फेरि न्यायालय कामु प्रधानन्यायाधीशको भरमा चल्ने सम्भावना देखिएको छ।