काठमाडौं, ११ मंसिर । नेपाल प्रहरीको पुरुष तथा महिला फुटबल टिमको लागि नेपाल टेलिकम मूख्य प्रयोजक बनेको छ । टेलिकम एक वर्षका लागि भए मुख्य प्रायोजक बनेको हो ।
नेपाल टेलिकम र नेपाल प्रहरीबीच यस सम्बन्धी सम्झौता भएको छ । सो सम्झौता पत्रमा नेपाल टेलिकमका तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र नेपाल प्रहरीको तर्फबाट केन्द्रीय खेलकुद समितिका अध्यक्ष तथा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले हस्ताक्षर गरे ।
सम्झौता अनुसार नेपाल टेलिकम आगामी एक वर्षसम्म नेपाल प्रहरी खेलकुद समिति अन्तर्गत रहेको नेपाल पुलिस क्लब पुरुष तथा महिला फुटबल टिमको मुख्य प्रायोजक भएको छ । सो प्रायोजन वापत नेपाल टेलिकमले नेपाल प्रहरीको फुटबल टिमलाई बत्तिस लाख रुपैयाँ उपलब्ध गराउने छ ।
नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई कम्पनीको लोगो अंकित जर्सी र फुटबल हस्तान्तरण गरे।
सम्झौता अवधिभर नेपाल पुलिस क्लबका पुरुष तथा महिला खेलाडीहरुले नेपाल टेलिकमको नाम तथा लोगो अंकित जर्सी लगाएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको खेलमा खेल्ने छन् । जर्सीको अगाडि भागको माथि दाहिने पट्ट िनेपाल टेलिकमको लोगो रहने र बीच भागमा नेपाल टेलिकमको नाम लेखिने छ ।
त्यसैगरी हाफ पाइन्टको अगाडि भागको बायाँ पट्ट िनेपाल टेलिकमको ‘एनटी फोरजी’ लोगो हुनेछ । त्यसैगरी नेपाल टेलिकमले आफ्ना विभिन्न प्रवर्द्धनात्मक सामग्रीहरुमा नेपाल पुलिस क्लबका पुरुष तथा महिला फुटबल टिमको नाम तथा फुटबल खेलाडीहरुको निःशुल्क प्रयोग गर्न सक्नेछ ।
उक्त अवसरमा प्रबन्ध निर्देशक अधिकारीले खेलको माध्यमबाट राष्ट्रको गरिमा अभिवृद्धि हुने र राष्ट्रिय एकता समेत थप मजबुत हुने बताउँदै यस्तो कार्यमा सहयोग गर्न पाएकोमा कम्पनी गौरवान्वित भएको बताए। उनले आगामी एक वर्ष कम्पनीको व्यावसायिकता र नेपाल पुलिस क्लबका खेलाडीको खेलजीवन साथसाथै लैजान पाएकोमा खुशी पनि व्यक्त गरे।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरी र नेपाल टेलिकम बीचको यो सम्झौतामार्फत फुटबलको माध्यमबाट खेलका साथै राष्ट्रिय एकता प्रवर्द्धन गर्न समेत बिशिष्ट योगदान पुग्ने बताए।खेल र खेलाडीलाई थप व्यावसायिक बनाउन यस्ता प्रयासले महत्वपूर्ण भूमिका निर्वाह गर्ने पनि उनले विश्वास व्यक्त गरे।