चीनमा नेपाली विद्यार्थीलाई अझ धेरै छात्रवृत्ति उपलब्ध गराईने

काठमाडौं, १४ मंसिर । उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोख्रेलले नेपाल र चीनबीचको सम्बन्ध अझ फराकिलो र घनिष्ट भएको बताउनुु भएको छ । शनिवार काठमाडौंस्थित होटल याक एण्ड यतिमा आयोजित चीनमा अध्ययन गरि फर्किएका विद्यार्थीहरुको छैठौ भेलालाई सम्बोधन गर्दै मन्त्री पोख्रेलले सो विचार व्यक्त गर्नुभएको हो ।

“हामी दुई मुलुकबीचमा गहिरो समझदारी, घनिष्ट मैत्री सम्बन्ध आत्मियता तथा आपसी विश्वासले भरिपूर्ण छ । हाम्रा दुई देशबीच जनस्तरको सम्बन्ध दिनप्रतिदिन प्रगाढ हुँदै गएको छ । शिक्षा, सँस्कृति तथा आर्थिक, व्यापार, लगानी र पर्यटन जस्ता क्षेत्रमा हाम्रा सम्बन्ध अझ फराकिलो हुँदै गएको छ” मन्त्री पोख्रेलले भन्नुभयो ।

नेपाल चीन सम्बन्धको विकासलाई अरु जोड दिँदै मन्त्री पोख्रेलले भन्नुभयो, “यस वर्षको अक्टोबर महिनाको १२ र १३ तारिखमा चीनका सम्माननीय राष्ट्रपति सि चिनफिङको सफल नेपाल भ्रमणले हामी दुई देशबीचको सम्बन्ध नयाँ उचाईमा पुगेको छ । उच्चस्तरको आपसी भ्रमणले हामीबीचका सम्बन्ध घनिष्ट हुनुका साथै आर्थिक तथा व्यापारमा वृद्धि, शैक्षिक तथा साँस्कृतिक क्षेत्रमा सहयोगको आदान प्रदान मा पनि ठूलो सहयोग भएको छ । सन् १९५५ मा दुई देशबीच दौत्य सम्बन्ध स्थापना पश्चात जनस्तरमा हाम्रो सम्बन्ध झनझन प्रगाढ भएको छ । ”

नेपालको भौतिक पूर्वाधार सडक, पुल, अस्पताल, कपडा कारखाना ईत्यादी क्षेत्रमा चीन सरकारले दिँदै आएको सहयोग अझ विस्तार हुने क्रममा रहेको भन्दै मन्त्री पोख्रेलले महाभूकम्प पश्चात बसन्तपुरको नौतले दरवार र काठमाडौं दरवार हाईस्कुलको निर्माणमा चीनले दिएको सहयोग महत्वपूर्ण रहेको बताउनु भयो ।

नेपाल चीन साँस्कृतिक तथा शैक्षिक परिषद् र चिनिया राजदूतावासले आयोजना गरेको यस किसिमको सम्मेलन अत्यन्त महत्वपूर्ण रहेको मन्त्री पोख्रेलको भनाई थियो । नेपालस्थित चिनिया राजदूतावासको सहयोगमा नेपाल चीन साँस्कृतिक तथा शैक्षिक परिषद्ले प्रत्येक वर्ष नेपाली पर्यटन व्यवसायीहरुको लागि चिनिया भाषा तालिम, चिनिया नयाँ वर्ष शुभकामना आदान प्रदान कार्यक्रम, राजदूत छात्रवृत्ति कोष, चिनिया चित्रकला प्रतियोगिता, चिनिया शैक्षिक प्रर्दशनी जस्ता कार्यक्रमको आयोजना गरेको सुन्न पाउँदा आफु अत्याधिक खुशी लागेको पनि मन्त्री पोख्रेलले बताउनु भयो ।

नेपालका लागि चिनिया राजदूत हौ यान्छीले चीनबाट अध्ययन गरेर फर्किएका विद्यार्थीहरुको सम्मेलन अत्यन्त महत्वपूर्ण भएको बताउनु भयो । सम्मेलनमा ४ जना विद्वानहरुले दिनु भएको प्रस्तुतीले आफुलाई अत्यन्त खुशी र प्रभावित बनाएको भन्दै राजदूत हौ यान्छीले वहाँहरुको प्रस्तुतीले चीनले उपलब्ध गराएको छात्रवृत्तिको उच्चत्तम सदूपयोग भएको पुष्टि मिलेको पनि बताउनु भयो । नेपाली विद्यार्थीहरुलाई भविष्यमा अझ धेरै छात्रवृत्ति उपलब्ध गराउने जानकारी दिनुहुँदै चिनिया राजदूतले चीनमा अध्ययन गरेको ज्ञानलाई नेपालको विकास निर्माणमा लगाएर योगदान दिन आग्रह र चीनसँगको जनस्तरको सम्बन्ध अभिवृद्धिमा पनि लागिरहन पनि सहभागीहरुलाई अनुरोध गर्नुभयो ।

सम्मेलनको सहआयोजक संस्था नेपाल चीन सांँस्कृतिक तथा शैक्षिक परिषद्का अध्यक्ष डा. हरिश्चन्द्र शाहले नेपाल र चीनबीच प्राचीन समय देखिनै घनिष्ट सम्बन्ध रहेको बताउनु भयो । सन् १९५७ मा पहिलो पटक छात्रवृत्ति प्राप्त गरि नेपाली विद्यार्थीहरु उच्च शिक्षा अध्ययन गर्न चीन गएको प्रसंग उठाउदै डा. शाहले अहिले झण्डै ७ हजार ५ सयदेखि ८ हजार जना नेपाली विद्यार्थीहरु विभिन्न विषयमा उच्च शिक्षा हासिल गरि फकिएको जानकारी दिनुभयो । चीनमा अध्ययन गरि फर्केपछि नेपाली विद्यार्थीहरुमा जीवन भरी नै आत्मिय सम्बन्ध हुने बताउदै वहाँले यो भावनात्मक सम्बन्ध पहिलो, दोश्रो हुँदै तेश्रो पुस्तासम्म पुगेको जानकारी दिनुभयो । गत अप्रिल महिनामा नेपालका राष्ट्रपती बिद्या देवी भण्डारी ले गर्नुभएको चीनको सफल भ्रमण र गत अक्टोबरमा चिनिया राष्ट्रपतीले गर्नुभएको नेपालको ऐतिहासिक भ्रमणले दुई देशबीचको सम्बन्ध अझ घनिस्ट हुनु का साथै नयाँ उचाइमा पुगेको पनि डा. शाहले बताउनु भयो ।

नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु, नेपालस्थित चिनिया राजदूतावासका वरिष्ट अधिकारीहरु, नेपालस्थित चिनिया भाषाका शिक्षक, चीनमा अध्ययन गरि फर्किएका विद्यार्थी तथा तिनका परिवार लगायत झण्डै एक हजार जनाको सहभागीता रहेको सो भव्य भेलामा शैलेन्द्र भट्टराई, डा.युवराज लिम्बू, राजनारायण शाह र चन्द्रमणि चौलागाईले चीनमा अध्ययन गर्दाका स्मरणहरु, हाल कार्यरत पेशा तथा व्यवसायको अनुभव तथा नेपाल चीन सम्बन्धका विविध पक्षमा बोल्नु भएको थियो ।

 

Loading...