२ हजार बढी मतले भक्तपुरमा काँग्रेस बिजयी

आम निर्वाचनमा बाम गठबन्धनले जीत हासिल गरेको भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गतको प्रदेश क्षेत्र नम्बर १ मा प्रदेश सभा सदस्यका लागि भएको उपनिर्वाचनमा कम्युनिष्ट पार्टीले उक्त जीत कायम गर्न सकेन । चुनावी परिणाम अनुसार सतारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले हारको स्वाद चखाएको छ ।

आइतवार सम्पन्न मतगणना अनुसार नेपाली काँग्रेसका उम्मेदवार कृष्णलाल भडेलले नेकपाका उम्मेदवार डीपी ढकाललाई.भारी मतले पराजित गरेका छन् । चुनावी परिणाम अनुसार भडेलले १३ हजार ४ सय ३७ मत प्राप्त गर्दा ढकाल ११ हजार १ सय ९७ मै सीमित बन्न पुगे । २ हजार २ सय ४० मतान्तरले काँग्रेसले बाजी मारेको मतगणनास्थल बाट हाम्रा प्रतिनिधिले जनाएका छन् । जीतको औपचारिक घोषणा भने भएको छैन ।

यस मतपरिणाम अनुसार नेमकिपाले समेत आफ्नो जनमत गुमाएको देखिएको छ । नेमकिपा उम्मेदवार निरज लवजूले ५ हजार ४ सय ४७ मत प्राप्त गर्दै तेस्रो स्थानमा चित्त बुझाएका छन् ।

यस अघि आम निर्वाचनमा बाम गठबन्धनका स्वर्गीय हरिशरण लामिछाने १२ हजार ७ सय ८९ मत ल्याएर विजयी भएका थिए । लामिछानेले वामगठबन्धनको आधिकारिक उम्मेदवार डीपी ढकाल विरुद्ध वागी उम्मेदवारी दिएका थिए। पछि एमाले र माओवादी केन्द्रले केन्द्रीय तहमै सहमति गरेर लामिछानेको उम्मेदवारीलाई गठबन्धनको उम्मेदवारीको मान्यता दिएका थिए। अहिले उपनिर्वाचनमा उनै ढकाल नेकपाका उम्मेदवार रहेका थिए ।

त्यतिबेला लामिछानेका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जीवन खत्रीले ९ हजार ९ सय ७४ मत ल्याएका थिए भने ७ हजार १९ मत ल्याएर नेमकिपाका निरज लवजू तेस्रो भएका थिए ।

यस उपनिर्वाचनमा भने ९ दलका र १० स्वतन्त्र गरी १९ उम्मेदवार चुनावी मैदानमा थिए । यस उपनिर्वाचनमा कूल ४५ हजार १५ मतदाता रहेकोमा ३२ हजार १२ मत खसेको थियो । यस अघि आम निर्वाचनमा कूल ३८ हजार ९ सय ७६ मतदाता रहेकामा २९ हजार ३ सय ३१ मत खसेको थियो ।

Loading...