नक्कली नागरिकता बनाएर ३४ करोड  बैंकको रकम अनियमितता

काठमाडौँ , १० मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली नागरिकता बनाई खाता खोलेर बैंकको रकम हिनामिना गरेको आरोपमा कृषि विकास बैंकका शाखा अधिकृत केदारप्रसाद गौतमविरुद्ध ३३ करोड ९३ लाख रुपैयाँ बिगो दाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको छ । बैंकको स्वयम्भू शाखामा १० महिना रहँदा उनले त्यति रकम अनियमितता गरेको अख्तियारको आरोप छ । अनियमिततामा सघाएको आरोपमा अख्तियारले अन्य ७ जनामाथि पनि मुद्दा चलाएको छ । सबैमाथि दाबी गरिएको कुल बिगो रकम २ अर्ब ७१ करोड ४४ लाख रुपैयाँ हुन्छ । गौतमले अरू कर्मचारीको समेत काम आफैं गरिदिन्थे ।

सबैको काम गरिदिने भएकाले अरू सहकर्मी बैंकका अरू टेलर ले समेत उनलाई आफ्नो युजर नेम र पासवर्ड दिन्थे । सुरुमा अरूको काम गरिदिएका उनले पछि भने त्यसकै दुरुपयोग गरेर अरूका नामको र बैंकमा रहेको रकम आफूले खोलेको खातामा ट्रान्सफर गरेको पाइएको छ । ०७१ असोजदेखि ०७२ असारसम्म १० महिनाको अवधिमा उनले ३३ करोड ९३ लाख रुपैयाँ ‘तेजबहादुर थापा’ का नाममा सारेको भेटिएको छ ।

तेजबहादुर थापा फर्जी नाम हो । कुनै व्यक्तिको पहिचान नै नभएको अवस्थामा नक्कली कागजात खडा गरी गौतमले जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट उनका नाममा नागरिकता बनाएको पाइएको छ । अख्तियारले गौतममाथि ‘झूटा विवरण पेस गरी नागरिकता बनाएको’ आरोपसमेत लगाएको छ । त्यही नागरिकताका आधारमा गौतमले कृषि विकास बैंकमा खाता खोले र धमाधम बैंकको रकम थापाका नाममा ट्रान्सफर गरिरहे । आफ्नो अनियमितता सार्वजनिक हुने डरले गौतम थापाकै नाममा पासपोर्ट बनाई विदेश जाने योजना बनाएका थिए । नेपालबाट भागेर भारतमा लुकेको अवस्थामा प्रहरी टोलीले उनलाई समातेको हो ।

अख्तियारले बैंकका शाखा प्रबन्धक भरतबहादुर बानियाँमाथि पनि मुद्दा चलाएको छ । उनीमाथि आर्थिक कारोबार, कर्मचारीहरूको रेखदेख र नियन्त्रण अनि व्यवस्थापन गर्न नसकेको आरोप छ । गौतमले खोलेको तेजबहादुर थापाको खाताबाट उनकी पत्नी सम्झना पोखरेल गौतमले पैसा निकाल्ने, कारोबार गर्ने र कर्जा तिर्ने गर्थिन् । अख्तियारले गौतमकी पत्नी सम्झनालाई पनि मुद्दा लगाएको छ । उनकी कान्छी श्रीमती जेनी श्रेष्ठ गौतमलाई पनि प्रतिवादी बनाएको छ ।

गौतमसँग कारोबार गर्ने सुमन भुजेल, सन्दीप गुप्ता र नक्कली नागरिकता बनाउन सघाएको आरोपमा सूर्यबहादुर लिम्बू र कृष्णहरि थापालाई पनि मुद्दा चलाइएको छ । आरोपितहरूमाथि बैंकिङ कसुरको आरोपमा मुद्दा चलिसकेको छ । सरकारी बैंकमा अनियमितता गरेकाले भ्रष्टाचारको आरोपमा समेत छानबिन भएको हो । उनीहरूमाथि किर्ते नागरिकता लिएको आरोपमा समेत भक्तपुरबाट छानबिन हुनेछ ।

आठ जनाविरुद्ध मुद्दा

यसैबीच अख्तियारले सरकारी कागजात सच्याई कानुनविपरीत नागरिकता जारी गरेको अभियोगमा आठ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । दुई फरक मुद्दामा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेल र नासु चन्द्रदेव ठाकुर दोहोरिएका छन् ।

वीरगन्ज महानगरपालिका–२ की सबरुन खातुन र आरिफ हुसेनलाई कानुनविपरीत नागरिकताको प्रमाणपत्र दिएको आरोपमा सहायक प्रमुख जिल्ला अधिकारी पौडल, प्रशासकीय अधिकृत सदनकुमार कर्ण, नासु ठाकुर र वडाध्यक्ष शेख अब्बासलाई भ्रष्टाचार मुद्दा लागेको हो । अख्तियारले नागरिकता लिने खातुन र हुसेनविरुद्ध पनि मद्दा चलाएको छ । अख्तियारले वीरगन्ज महानगर–१५ मा कानुनविपरीत ममताकुमारी गुप्तालाई नागरिकता दिएको आरोपमा सहायक प्रजिअ पौडेल र नासु ठाकुर र वडा नम्बर १५ का वडाध्यक्ष गजेन्द्रप्रसाद कुर्मीविरुद्ध अर्को मुद्दा चलाएको छ । नागरिकता बनाउने गुप्ताविरुद्ध समेत मुद्दा दायर गरिएको छ ।

Loading...