बेपत्ता पत्रकार खड्काको १४ महिनापछि अवशेष भेटियो

धनगढी, ३ मंसिर । बेपत्ता बाजुराका पत्रकार तेजु खड्काको अवशेष भेटिएको छ । गत वर्ष भदौ ९ गते बाजुराकै बुढीनन्दा दर्शनका लागि गएका पत्रकार खड्का हालसम्म पनि बेपत्ता थिए । खड्कको १४ महिनापछि जिल्लाको लौरी विनायक भन्ने स्थानमा स्थानीयले अवशेष भेटाएको दाबी गरेका छन् । उक्त स्थानबाट उनको पर्स र झोला लगायतका सामान भेटाएको स्थानीयले बताएका छन् ।

पत्रकार खड्काको परिचय पत्रसहितका सामान भेटिएपछि स्थानीले प्रहरीलाई खबर गरेका थिए । खड्काको परिचयपत्रसँगै लाइसेन्स पनि भेटिएको स्थानीयले प्रहरीलाई जानकारी दिएका थिए । उक्त जानकारीपछि इलाका प्रहरी कार्यालय कोल्टीबाट प्रहरीको एक टोली उक्त स्थानतर्फ गएको थियो ।

हिडेर उक्त स्थानमा पुग्न दुईदिन लाग्ने भएकोले प्रहरीको टोली अझै पुग्न सकेको छैन । भेटिएको भनिएको उक्त सामान पहिचान गर्न सजिलो होस् भनेर प्रहरीले स्थानीय पत्रकार र स्थानीयबासीलाई समेत सँगै लगेको जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ ।