विद्यालय तहका पाठ्यक्रम परिवर्तन हुँदै

काठमाडौँ, ३ मङ्सिर । विद्यालय तहमा अध्यापन गरिँदै आएको अनिवार्य विज्ञान विषयमा अब प्रविधि पनि थप गरिएको छ । आगामी शैक्षिक सत्र २०७७ सालबाट विज्ञान तथा प्रविधि विषय अध्यापन गरिने छ । विश्वमा विकास हुँदै गएको प्रविधिबारे विद्यार्थीलाई सिकाउने उद्देश्यले प्रविधि विषय थप गरिएको हो । १९९० सालबाट नेपालमा प्रवेशिका परीक्षाको थालनी भएको हो र त्यो बेला अतिरिक्त विषयका रूपमा साधारण विज्ञान विषय समावेश गरिएको थियो ।

नयाँ शिक्षा लागू भएपछि अनिवार्य विज्ञान विषय पाठ्यक्रममा समावेश गरिएको थियो र २०३१ सालबाट सो विषय प्रवेशिका परीक्षामा समावेश भएको थियो । पाठ्यक्रम विकास केन्द्रका सूचना अधिकारी गणेश भट्टराईले भने, “सूचना प्रविधिको युगमा विश्व बजारसँग प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति विकास गर्ने उद्देश्यले विज्ञान र प्रविधिलाई जोड्ने निर्णय भएको हो । ”

आगामी शैक्षिक सत्र २०७७ सालबाट कक्षा १ र कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू तथा कक्षा ६ मा नयाँ पाठ्यक्रम परीक्षणका रूपमा लागू गरिँदै छ । कक्षा ४ देखि १० सम्म विज्ञान तथा प्रविधि विषयको अध्यापन गरिने छ । आगामी २०८० सालसम्ममा सबै तहमा नयाँ पाठ्यक्रम लागू भइसक्ने छ ।

हटाइयो पूर्णाङ्क
नयाँ पाठ्यक्रम संरचनाअनुसार अबदेखि पूर्णाङ्कको व्यवस्थालाई हटाइएको छ । नेपालमा आधुनिक शिक्षाको थालनी हुँदादेखि नै पूर्णाङ्कको व्यवस्था थियो । अब त्यसलाई विस्थापन गरी क्रेडिट आवर बनाइएको छ । कक्षा ११ र १२ मा हप्तामा २७ घण्टा तथा त्यसभन्दा तल हप्तामा ३२ घण्टाको क्रेडिट आवर कायम गरिएको छ । सबै तहका विद्यार्थीको मूल्याङ्कन अक्षराङ्कन पद्धतिमा मात्र गरिने छ ।

नयाँ पाठ्यक्रमअनुसार कक्षा १–३ मा नेपाली, अङ्ग्रेजी, मेरो सेरोफेरो र गणित विषयलाई एकीकृत पाठ्यक्रम बनाइएको छ । केन्द्रका सूचना अधिकारी भट्टराईका अनुसार स्थानीय तहले मातृभाषा र स्थानीय विषय तयार गरी हप्ताको पाँच घण्टा अध्यापन गर्नुपर्ने हुन्छ ।

त्यस्तै कक्षा ४ देखि ८ को पाठ्यक्रममा मानव मूल्य शिक्षा विषय थप गरिएको छ । हाल कक्षा ४–५ मा नैतिक शिक्षा थिएन भने कक्षा ६–८ मा नैतिक शिक्षाको अध्यापन हुँदै आएको छ । नैतिक शिक्षालाई नै मानव मूल्य शिक्षा बनाइएको हो । हाल कक्षा ६–८ मा अध्यापन हुँदै आएको पेसा, व्यवसाय र प्रविधि विषयलाई राष्ट्रिय पाठ्यक्रमबाट हटाइएको छ र त्यसलाई स्थानीय पाठ्यक्रममा समावेश गरिएको छ ।

कक्षा ९–१० मा अनिवार्य स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण विषय हटाइएको छ । अब आठवटा विषयबाट सातवटामा झारिएको छ । विगतमा रहेको स्वास्थ्य, जनसङ्ख्या र वातावरण विषयलाई तीनवटा अलगअलग विषयमा विभाजन गरी तिनलाई ऐच्छिक विषयका रूपमा समावेश गरिएको छ । “विद्यार्थीले ऐच्छिक विषयका रूपमा स्वास्थ्य वा जनसङ्ख्या वा वातावरणमध्ये कुनै एकमध्ये रोज्न सक्ने छन्”, उनले भने । कक्षा ११ र १२ दुवैमा अनिवार्य नेपाली विषय थप गरिएको छ ।

यसअघि विभिन्न विषय समूहमध्ये कसैले कक्षा ११ मा र कसैले कक्षा १२ मा नेपाली विषय अध्ययन गर्नुपथ्र्यो । उनका अनुसार कक्षा १२ मा जीवनोपयोगी शिक्षा समावेश गरिएको छ । कक्षा ११ र १२ मा विषय समूहको प्रावधान हटाइएको छ । “अब विज्ञान वा व्यवस्थापन वा शिक्षा वा अन्य समूह भनेर भन्न पाइँदैन”, केन्द्रका सूचना अधिकारी भट्टराईले भने, “आगामी शैक्षिक सत्रबाट एकल पथीय पाठ्यक्रम लागू हुने छ ।

ऐच्छिक विषयहरू राखिएका छन् र तीमध्येबाट कुनै तीनवटा छनोट गर्नुपर्ने हुन्छ । ” कक्षा १०, ११ र १२ मा राष्ट्रिय परीक्षा बोर्डले नै वार्षिक परीक्षा सञ्चालन गर्ने नयाँ पाठ्यक्रममा स्पष्ट छ । विगतमा कक्षा ११ मा वार्षिक परीक्षा सम्बन्धित विद्यालयले नै सञ्चालन गर्ने चर्चा निकै चलेको थियो ।

Loading...