सरकारले कलेजहरुले अवैध रुपमा लिएको शुल्क विद्यार्थीलाई फिर्ता गराउने, कलेजहरुमाथि ठगी मुद्दा चलाउने तयारी

काठमाडौं, २५ कार्तिक । शिक्षा मन्त्रालयले मेडिकल कलेजहरुले सरकारको मापदण्ड विपरित उठाएको पैसा फिर्ता गराउने जनाएको छ । मन्त्रालयले त्यसअघि मेडिकल कलेजहरुलाई त्यसरी अवैध तरिकाले उठाएको शुल्क आफै फिर्ता दिन आग्रह गरेको छ । मन्त्रालयले पत्रकार सम्मेलन नै आयोजना गरेर पहिलो पटक यस्तो आग्रह गरेको हो । मन्त्रालयको निर्णयलाई नमानेमा सरकारले तोकेभन्दा चर्को शुल्क उठाउने मेडिकलहरु विरुद्ध ठगी मुद्दा चलाउने पनि चेतावनी दिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी मेडिकल कलेजहरुलाई १५ दिने अल्टिमेटम पनि दिएको जानकारी गराएको छ । पत्रकार सम्मेलनमा बोल्दै शिक्षामन्त्री गिरिराजमणि पोखरेलले अहिले आन्दोलनरत विद्यार्थीले उठाएका मागको सम्बोधन हुने बताए । मन्त्री पोखरेलले भने, ‘१५ दिनभित्र विद्यार्थीका गुनासा समाधान नगरे ठगी मुद्दा चलाउँछौं ।’

मन्त्री पोखरेलले यसका बारेमा गृहमन्त्रालयसँग पनि समन्वय भइरहेको जानकारी दिए । उनले सोमबार गृह मन्त्रालयलाई यसबारे पत्राचार समेत गरिसकिएको बताए । मन्त्री पोेखरेलले मेडिकल कलेज सञ्चालकहरुलाई इंगित गर्दै हिजो संक्रकालमा जे जे भए अब चिकित्सा शिक्षा ऐन आइसकेपछि त्यो स्थिति नहुने बताए । साथै उनले ऐन र मन्त्रिपरिषदले गरेका निर्णय कुनै हालतमा पनि कार्यान्वयन हुने दावी गरे । नयाँ ऐनले तोकेका कुरा र मन्त्रिपरिषदले गरेका निर्णयहरु मेडिकल कलेजहरुले लागु नगरिएमा विद्यार्थी र अभिभावकहरुले दिएका निवेदन अनुसार प्रक्रियामा अगाडि बढ्ने चेतावनी पनि मन्त्री पोखरेलले दिए ।

सोही क्रममा मन्त्री पोखरेलले विद्यार्थी र अभिभावकहरुलाई कलेजहरुसँग असमान खालका शर्तहरु स्वीकार नगरिदिन पनि आग्रह गरे । सरकारले जे निर्णय गरेको छ त्यसमा अडिदिन आग्रह गरे । उनले भने, “पहिला जस्तोसुकै शर्त पनि स्वीकार गर्ने पछि आएर सरकारले गरेको निर्णय लागु भएन भन्दै हिडेर भएन नि त ।”

Loading...