नेपालगञ्ज कारागारका कैदीबन्दी आन्दोलनमा

नेपालगञ्ज, १४ कात्तिक । नेपालगञ्जस्थित बाँके कारागारका कैदीबन्दी नाइके फेर्नुपर्ने माग राख्दै आज आन्दोलनमा उत्रेका छन् । नाइके मानबहादुर शाही र चौकीदार भरत फडेराको सरुवा माग गर्दै कैदीबन्दीले आन्दोलन थालेका हुन् ।

बाँके कारागारका निमित्त प्रमुख बखतबहादुर थापाका अनुसार शाही र फडेराले कैदीबन्दीको राशन र दैनिक उपभोग्य वस्तुको खरीदमा अनियमितता गरेको आरोप लगाउँदै कैदीबन्दी आन्दोलनमा उत्रेका हुन् । फोन प्रयोग गरेबापत प्रतिमिनेट रु तीनका दरले कैदीबन्दीबाट रकम असुल्ने गरेको समेत उनीहरुको आरोप छ । कैदीबन्दीले कारागारको मूलढोकामा ताला लगाएका छन् ।

समस्या समाधानका लागि कैदीबन्दीसँग छलफल भइरहेको कारागारका निमित्त प्रमुख थापाले बताए । प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का र प्रहरी उपरीक्षक वीरबहादुर वलीले आज कैदीबन्दीसँग छलफल गरेका छन । प्रहरी उपरीक्षक वलीले छलफलका क्रममा कैदीबन्दीले नाइके परिवर्तनको माग राखेको बताए ।

Loading...