परम्परागत संस्कृति र पहिरन हराउँदै

सिञ्जा, १४ कात्तिक । जुम्लाका ग्रामीण क्षेत्रमा परम्परागत संस्कृति र पहिरन हराउँदै जान थालेका छन् । संरक्षण अभावमा झोडा, देउडा, रत्यौली, मागल, धारु, छैंटी, आरती, हुडे नाच, बालो चम्फा नाचलगायत मुगेली परम्परा बोकेका संस्कृति र पुराना भाका लोप हुँदै गएका छन । कर्णाली खस सभ्यताको पहिचान झल्काउने पहिरन र संस्कृति हराउँदै गएको कनकासुन्दरी गाउँपालिका जुम्लाकी उपाध्यक्ष उर्मिला भण्डारी खत्रीले बताईन। पश्चिमेली संस्कृति र शहरी क्षेत्रको पहिरनले जिल्लाको पूर्खर्यौली संस्कृति र पहिरन ओझेलमा परेको देउडा गायक पदमबहादुर रोकायाको भनाइ छ  ।

युवा पुस्तामा संस्कृति हस्तान्तरण नहुँदा लोप हुँदै गएको छ । अहिलेका पुस्ता बजारमा निस्केका आधुनिक गीत सङ्गीतमा रमाउने गरेकाले लोकसंस्कृति ओझेलमा परेको गायक रोकायाले गुनासो पोखे । रोकायाका अनुसार बाजेबज्यैको पालामा गाइने झोडा, मागल, धारु, रतेउली, छैटी, बालोलगायत गीत लोप हुँदै गएका छन् । विगतमा वनपाखामा गुञ्जिने देउडा गीत, ठाडी भाका, सवालजवाफमा गाइने होस् या लय मिलाएर गाइने भाका अहिले ग्रामीण क्षेत्रमा समेत सुन्न छाडिएको उनले बताए ।

विवाह, व्रतबन्ध, उत्सव, देवीदेवताको पूजालगायतमा गाइने झोडा गीत लोप हुँदै गएपछि स्थानीय संस्कृति ओझेलमा परेको भण्डारीको भनाइ छ । दुई समूहमा भेला भएर महिलाद्वारा गाइने झोडा गीत अहिले बिरलै सुन्न पाइने उनको अनुभव छ । उनका अनुसार दुई दशकअघिसम्म १५ र २० महिला आपसमा सवालजवाफ गर्दै यो गीतमा रमाउने गर्थे । दशकयता जुम्लाका गाउँ बस्तीमा महिलाले लगाउने गुन्युचोली र पुरुषले लगाउने दौरासुरुवाल पनि हराउँदै गएको छ । घरमै उत्पादित ठेटुवाबाट दौरासुरुवाल बनाइन्थ्यो । बजारमा विदेशमा उत्पादित कपडाको आयात बढ्न थालेपछि परम्परागत पोशाक हराउन थालेको उनको भनाइ छ ।

त्यस्तै पछिल्लो समय पञ्चेबाजा पनि लोप हुने अवस्थामा पुगेका छन् । बढ्दो आधुनिकीकरण र संरक्षण अभावमा पञ्चेबाजा सङ्कटमा परेको गाउँका धामीले बताउने गरेका छन । विवाह, व्रतबन्ध, देवताको पूजापाठ र अन्य उत्सवमा बजाइने लोकप्रिय बाजा सुनिन छाडेको उनीहरुले बताएका हुन । विवाह, व्रतबन्ध, मेला र अन्य पर्वमा आधुनिक बाजा बज्न थालेका छन् । अहिले सुन र चाँदीका विभिन्न गहनासमेत गाउँघरमा देखिन छाडेका छन । गाउँबस्तीमा ६० कटेका वृद्धालेसमेत परम्परागत गहनाको प्रयोग गर्ने गरेका छन ।

खुट्टामा लगाइने कल्ली र पैरा, हातमा लगाउने बाला, घाँटीमा लगाइने सानीमाला, ठूलीमाला, साङ्ला, मुगामाला, डुरी, ढुङ्ग्री, कालो, पहेंँलो, सेतो पोते, कपुर्ने मालालगायत पुराना गहना गाउँमा लगाउन छाडेको कनकासुन्दरी गाउँपालिका–५ की स्यानु रावतले बताए । संस्कृतिसँग सम्बन्धित परम्परागत मागी विवाहमा नाचिने हुडे नाचसमेत लोप भएको उनको भनाइ छ । मागी विवाहको चलन हटेसँगै यो नाच पनि लोप भएको स्थानीयवासी सार्के बुढाको भनाइ छ ।

करिब १५ वर्षअघिसम्म मङ्सिर र माघ महिनामा गाउँघरमा बिहेका पञ्चेबाजा खुब सुनिन्थे, हुडेलाई पनि भ्याइनभ्याइ हुन्थ्यो । सार्के बुढाका अनुसार तर अहिले त गाउँमा कसको विवाह भयो भनेर पाँच र सात दिनसम्म थाहै नहुने विवाहमासमेत आधुनिक चलन भित्रिएको छ । पहिले बिहे हुँदा पुरुष जन्ती जाने र महिला राति बेहुलाको घरमा जम्मा भई रत्यौली खेल्ने, मागल चुटी गाउने परम्परा थियो ।

बिहेको पछिल्लो दिन दौरा लगाएर हातमा डमरु जस्तै देखिने हुडो समातेर दुई जना सहयोगी जोल्याको साथमा पुराना वीर
पैकेला का कथा भात्ता भनेर दिनैभरि नाच्ने, गाउने र रमाइलो गर्ने चलन थियो । आजभोलि त जन्ती जाने चलनै हरायो । बिहेमा खुब नाचिन्थ्यो, गाइन्थ्यो, हुडो बजाइन्थ्यो तर अहिलेका पुस्तालाई हुडोबारे केही थाहा नभएको उनले गुनासो पोखे । जिल्लामा पछिल्लो समय परम्परागत संस्कृति र पहिरन हराउँदै जान थालेकाले संरक्षणका लागि स्थानीय सरकारको ध्यान जान जरुरी रहेको स्थानीय तथा देउडा गायक पदमबहादुर रोकायाले बताए ।