काठमाडौँ, १० कात्तिक । महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११औँ जन्मजयन्तीका अवसरमा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई सम्मान गरिएको छ ।
नयाँबस्ती युवा क्लबले जोरपाटीस्थित महाकवि देवकोटा उद्यानमा आज आयोजित कार्यक्रममा साहित्यकार कञ्चन पुडासैनीले जोशीलाई रु पाँच हजार ५५५ सहित अभिनन्दनपत्र र दोसल्ला ओढाइ सम्मान गरेका हुन् । संस्कृतिविद् जोशीले सांस्कृतिक अन्वेषणमा पु¥याएको योगदानको कदर गर्दै सांस्कृतिक बाजागाजासहित उनलाई सम्मान गरिएको हो ।
कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले नगरपालिकाले साहित्यिक क्षेत्रको प्रवद्र्धनका लागि उल्लेखनीय काम गरेको बताए । सात साहित्यिक संस्थालाई रु १० लाखका दरले गतिविधि गर्न नगरपालिकाले सहयोग गरेको उनले बताए । “नगरपालिकामा यसै वर्ष अन्तर्राष्ट्रियस्तरको कवि गोष्ठी गरिँदैछ, त्यसका लागि रु १० लाख विनियोजन गरेका छौँ, कार्यक्रम आगामी पुसमा आयोजना हुँदैछ, सबै साहित्यिक संस्थालाई एकै किसिमको सहयोग गरिएको छ”, उनले भने ।
नगरपालिकाको नयाँबस्ती क्लब मात्र ‘बी’ डिभिजनमा पुगेकाले यसका लागि विशेष बजेट विनियोजन गरिएको नगरप्रमुख चालिसेले जानकारी दिए । हाल क्लबलाई रु १० लाख वार्षिकरूपमा बजेट उपलब्ध गराएको छ । क्लब ‘ए’ डिभिजनमा बढुवा भए वार्षिक रु २० लाख उपलब्ध गराउने उनले घोषणा गरे ।
कैलाशकुट भवन उत्खनन् गर्न माग
सम्मानित व्यक्तित्व जोशीले वंशावलीमा गोकर्णेश्वरमै सातौँ शताब्दीको अंशुवर्माकालीन कैलाशकुट भवन रहेको उल्लेख भएकाले उत्खनन् गर्नुपर्ने बताए । भवनको जग गोकर्णेश्वर महादेव मन्दिर आसपासकै क्षेत्रमा हुन सक्ने उनको भनाइ थियो ।
सो अवसरमा जोशीले महाकवि देवकोटाले घण्टाघरस्थित भाषानुवाद परिषद्को कार्यालयमा बसेर शाकुन्तल महाकाव्य रचना गर्नुभएको बताए । शाकुन्तल महाकाव्य रचना गरेवापत महाकवि देवकोटाले त्यसबेला रु ५०० पारिश्रमिक पाएको संस्कृतिविद् जोशीले सुनाए । त्यसबेलाको मोहर देवकोटा आफैँले बोकेर गएको आफूले देखेको पनि उनले सो अवसरमा जानकारी दिए । मानवअधिकार तथा शान्ति समाजका सभापति उत्तम पुडासैनीले जोशी विगत र वर्तमान जोड्न युगपुरुष भइकन वैचारिकरूपमा युवाको जस्तो सोच भएको व्यक्तित्व हो भने ।
कार्यक्रममा साहित्यकार पुडासैनी, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दीपक रिसाल, नगरपालिका वडा नं ५ र ६ का वडाध्यक्ष क्रमशः नारायणबहादुर सुवेदी र रमेश अर्याल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता पुण्यप्रसाद चौलागार्इँ, क्लबका अध्यक्ष सुभाष पुडासैनी, उपाध्यक्ष राजकुमार तामाङ, सचिव चन्द्रमणि गौतम, कोषाध्यक्ष राजेन्द्र खनाल, पूर्वअध्यक्ष श्रीबहादुर योगीलगायतले देवकोटाले नेपाली साहित्यमा पु¥याउनुभएको योगदानको चर्चा गरे ।
उद्यानमा रहेको देवकोटाको अर्धकदको शालिकमा सो अवसरमा माल्यार्पण गरिएको थियो । कार्यक्रममा कविहरू नवराज पुडासैनी ‘ज्योत्स्ना’, गोपालकृष्ण रिजाल, कविन्द्र पुडासैनी, पवनकुमार सङ्ग्रौलालगायतले महाकवि देवकोटा एवम समसामयिक विषयमा लेखिएको रचना पाठ गर्नुभएको थियो । सो अवसरमा बौद्धिक अपाङ्गता भएका व्यक्तिको हितमा कार्यरत ‘नयाँ जीवन’ नामक संस्थालाई रु पाँच हजार ५५५ सहित सम्मान गरिएको थियो ।