एकताको कुराले राजपाको अध्यक्षमण्डलमा झण्डै हात हालाहाल

काठमाडौं, ६ कात्तिक । सत्तासाझेदार समाजवादी पार्टीसँगको एकीकरण विषयले राष्ट्रिय जनता पार्टी नेपाल (राजपा नेपाल)मा तीव्र असन्तुष्टि देखिएको छ ।

राजपा नेपाल अध्यक्षमण्डबीच एकीकरण विषयमा मतभेद बढ्दै जाँदा पार्टीका नेता दुई समूहमा विभाजित हुन थालेका छन् । राजपा नेपाल अध्यक्षमण्डलको आइतबार पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बसेको बैठकमा एकीकरणकै विषयमा नेताहरूबीच चर्काचर्कीसमेत भएको छ । बैठकमा अध्यक्षमण्डलका पूर्वसंयोजक राजेन्द्र महतोले समाजवादी पार्टीसँगको एकीकरण विषयमा सामान्य जानकारी गराएका थिए ।

उनले अहिले छलफल चलिरहेको बताउँदै एकीकरणका विषयमा केही प्रगति नभएको जानकारी गराएका थिए । राजपा स्रोतका अनुसार विभिन्न प्रस्तावमा छलफल भइरहेको भए पनि महतोले केही पनि सहमति नभएको बैठकमा जानकारी गराएका थिए ।

महतोले एकीकरणबारे बोल्दै गर्दा अध्यक्षमण्डलका पूर्वसंयोजक अनिलकुमार झाले पार्टीमा सल्लाहै नगरी किन वार्ता गरेको भन्दै उनको आलोचना गरेको राजपा स्रोतले जनाएको छ । ‘पार्टीमा सल्लाहै नगरी एकताबारे वार्ता गर्ने अनि केही सहमति नभएको नाटक गर्ने ?’ झाको भनाइ उद्धृत गर्दै राजपा स्रोतले भन्यो, ‘एकीकरणका लागि अब छलफल गर्नुपर्दैन, हुँदैन एकीकरण, पार्टीको महाधिवेशन तयारीमा जुट्नुपर्छ अब ।’

महतो र झाबीच चर्काचर्की हुन थालेपछि संयोजक महन्थ ठाकुरले साम्य पार्ने प्रयास गरेका थिए । ठाकुरले अहिलेकै अवस्थामा एकीकरण नहुने भन्दै महतो र झालाई अनुशासनमा बस्न निर्देशन दिएका थिए ।

ठाकुरको कुरा नसक्दै महतोले जसरी पनि एकीकरण हुने भन्दै एकीकरणको पक्षमा नहुनेले आफ्नो बारेमा सोच्नुपर्ने चेतावनी दिएका थिए । राजपा नेपालको वार्ता टोली संयोजकसमेत रहेका महतोले झालाई एकीकरणको विरोध गरेर केही नपाउने भन्दै बढी आक्रोशित बन्न जरुरी नरहेको भन्दै थर्काएका थिए ।

‘एकीकरण त जसरी पनि हुन्छ, बढी चिन्ता लिनुपर्दैन,’ महतोले बैठकमा भने, ‘तपाईंले एकीकरणको विरोध गरेर रोकिँदैन, तपाईं मन लागे सँगै आउनुहोला, नभए हिजो जस्तो छुट्टै पनि बस्न सक्नुहुन्छ ।’महतोको कुरा नसकिँदै झाले तपाईं एकीकरण गर्ने भए गर्नुस्, हामी एकीकरणको पक्षमा छैनौं भनेको थिए । त्यसपछि महतोले एकीकरणको विरोध गर्नेको अवस्था ठीक नहुने भन्दै थर्काएका थिए ।

महतो र झाबीच चर्काचर्की हुन थालेपछि पार्टी कार्यालयका अन्य नेता तथा कर्मचारी बैठक कक्षसम्म पुगेका थिए । उनीहरूले बाहिर पार्टी अब यसरी एकजुट हिसाबले नचल्ने भन्दै आपसमा नेताको अभद्र शैलीको आलोचना गरिरहेका थिए ।

बैठकमा ठाकुर, महतो, झा, महेन्द्रराय यादव मात्रै सहभागी थिए । शरतसिंह भण्डारी र राजकिशोर यादव उपत्यकाबाहिर रहेकाले बैठकमा सहभागी थिएनन् ।

Loading...