पाल्पा, ५ कात्तिक । पाल्पामा जनप्रतिनिधिले एक मजदुरलाई कुटपिट गरेका छन् । तिनाउ गाउँपालिका–६ मस्यामका वडा सदस्य चुन्नबहादुर बिष्टले स्थानीय ५१ वर्षीय मनवीर नेपालीलाई कुटपिट गरेका हुन् । उनले आइतबार विहान नेपालीलाई कुटेका थिए । नेपालीको दाहिने आँखा वरिपरी निलडाम हुनुका साथै सुनिएको पनि छ । अनुहारका विभिन्न ठाउँमा सानासाना चोट लागेको छ ।
वडा सदस्य बिष्टको घरको गारोमा प्लास्टर गरिदिएको ज्यालाको हिसाब सहित आफुले पाउनुपर्ने रकम माग्दा आफुलाई कुटपिट गरेको पीडित नेपालीले बताए । उनले आफुलाई मुक्का र लात्तीले हानेको आरोप लगाए ।
गत माघ महिनामा १२ हजारमा घरको गाह्रोमा प्लाष्टर गर्नको लागि बिष्ट र नेपालीबीच सम्झौता भएको थियो । नेपालीले समयमै काम सम्पन्न गरेका थिए । तर ज्यालाको रकम भने आफुले अहिलेसम्म नपाएको उनले गुनासो गरे । आइतबार बिहान हिसाब गर्न बिष्टको घरमा जानेक्रममा नेपाली र बिष्टबीच बाटोमा भेट भएको थियो ।
उनले कता हिडेको भनेर मलाई सोधे । मैले तपाइको घरमा कामको हिसाब गर्न हिडेको भनेर जवाफ दिए नेपालीले भने उनले एक्कासी तँ सार्की ड्याङ्ग्रा के को हिसाब, मलाई चिनेको छस्, म को हो, भन्दै मलाई मुक्काले र लात्तीले हान्न थाले। त्यसपछि प्रहरीलाई भनम भन्दै उल्टै धम्की समेत दिए ।
आफुलाई तल्लो जाती सार्की भन्दै कुटपीट गरेको आरोप सहित नेपालीले वडा सदस्य बिष्ट विरुद्ध जिल्ला प्रहरी कार्यालय पाल्पामा सोमबार निवेदन दिएका छन् । नेपालीलाई आफुले कुटेको वडा सदस्य बिष्टले स्वीकार गरेका छन् । नेपालीले मलाई पहिला हात हाल्नु भयो उनले भने अनि मैले त्यसको प्रतिकार गर्दै हानेको हो । रिसको झोंकमा सार्की ड्याङ्रा भन्दै ४/५ थप्पड गालामा हानेको हो उनले थप स्वीकारे । उनी नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन् ।
पीडित नेपालीले आफु कुटिएको भन्दै निवेदन दिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक देवराज पौडेलले बताए । उनले भने पीडक भनिएका बिष्टलाई कार्यालयमा ल्याएर घट्नाबारे सत्यतथ्य अनुसन्धान गर्नेछौं । दोषी उपर कानुन बमोजिम कारबाही हुनेछ ।