मार्तडी, ५ कात्तिक । जिल्लाको पोरखे लेकको सीमा विवादको समस्या टुङ्गिएको छैन । बडीमालिका नगरपालिका–७ र उत्तरी भेगमा रहेका बूढीनन्दा नगरपालिका–९ र १० का स्थानीयवासीबीचको चर्को प्रतिपादका कारण सीमाको बारेमा विवाद बढ्दै गएको हो ।
दुई वटा स्थानीय तहको बीच भागमा पर्ने उक्त पोरखे लेक नगरपालिकाको आन्तरिक विवादका कारण संरक्षणविहीन बनेको हो । जिल्लाको उत्तरतिर बूढीनन्दा नगरपालिका–९ र १० को चलन चल्तीको क्षेत्र पर्दछ । दक्षिणतर्फ बडीमालिका नगरपालिका–७ अर्थात् सदरमुकाम मार्तडीको बासिन्दाको चलन भोगमा पर्दछ ।
अहिले त्यो पोरखे गढीमा बूढीनन्दा नगरपालिका–९ र १० तथा बडीमालिका नगरपालिका–७ का स्थानीयवासीबीच सिमानाका विषयमा निकै विवाद चुलिएको छ । जिल्लाको सदरमुकाम मार्तडीबाट दोस्रो व्यापारिक केन्द्र कोल्टी हुँदै कर्णाली करिडोर पुग्ने मूल सडक यहीँ पोरखे लेक काटेर जान्छ । दुईवटा नगपालिका जोड्ने सो क्षेत्र पयटकीय दृष्टिकोणबाट निकै रमणीय छ । यसले जिल्लाको पहिचानसमेत बोकेको यहाँका स्थानीयवासी लाकेन्द्र रोकायाले बताए ।
‘पोरखे लेक’ जिल्लाकै रमणीय तथा प्राकृतिक सौन्दर्यताले भरिपूर्ण क्षेत्र मानिन्छ । पोरखे एकदमै घना वन जङ्गल तथा विभिन्न खाले जडीबुटी पाइने ठाउँ छ । यो क्षेत्र मार्तडी कोल्टी सडकखण्डअन्तर्गत पर्ने भएकाले यात्रु गाडी चढेर जान सजिलो भए पनि पैदलयात्रा गरी दृष्यावलोक गर्न रुचाउने गर्दछन् । यो क्षेत्रले विभिन्न किसिमको सम्भावना बोकेकाले दुईवटा स्थानीय तहको स्वार्थ बाझिँदा विवाद भएको हुनसक्ने नागरिक अगुवाको भनाइ छ ।
बूढीनन्दा नगरपालिका–९ र १० तथा बडीमालिका नगरपालिका–७ ले पोरखे लेक आ आफ्नो सिमानाभित्र पर्ने दाबी गर्दै आएको छ । बूढीनन्दा नगरपािलका–१० का स्थानीयवासीले पोरखे लेक क्षेत्रको पोरखे गढीभन्दा करीब पाँच किलोमिटरभन्दा तल किमडी खोलासम्म आफूहरु पहिलेदेखि नै भोगचलन गर्दै आएको र अहिले पनि त्यो सिमानासम्म आफूहरुको नै भोगचलन भएको दाबी गरिरहेका छन् ।
पहिला बूढापाकाले नजिकै गाउँघर हँुदा बर्खाको समयमा गाई भैँसी चराउन लिनलगायतका काम गर्ने गरेकाले अहिलेका पुस्ताले पनि त्यो आफ्नो नै भनी दाबी गरेको र बूढीनन्दा नगरपलिका–१० भित्रै सो क्षेत्र परेको बूढीनन्दा नगरपालिका–१० का स्थानीयवासी तेजबहादुर रावतले बताएका छन ।
बडीमालिका नगरपालिका–७ बयोवृद्ध गोरख रोकायाले भासुपातलदेखि नौ हजार २३३ वर्ग किलोमिटरको सामुदायिक वन आफूहरुले भोगचलन गर्दै आएको बताए । उनले भने, “बूढीनन्दा नगरपालिका–१० का स्थानीय बासिन्दाले आफूहरुले कालाजग्रा सामुदायिक वनमा वृक्षरोपण गरे पनि उखेलेर फाल्ने गरेको वनमा जथाभावी गाई भँैसी चराएर भाड्ने गर्दै आएका छन् ।” यसका लागि आफूहरुले सम्बन्धित स्थानीय तहलाई जानकारी गराएको भए पनि नगरपलिकाले खासै वास्ता नगरेको रावतको भनाइ छ ।
कालाजग्रा सामुदायिक वनका अध्यक्ष लोकेन्द्रबहादुर रोकायाले तीन वर्षसम्म वनमा १६ सय बढी बिरुवा रोपेको भए पनि बूढीनन्दा–१० का स्थानीयवासीले जोगिनै नदिएको बताए । अहिले पनि त्यहाँका स्थानीयवासी आफ्नो भोगचलन गरेको क्षेत्र भनेर जथाभावी जडीबुटी पनि निकासी गर्ने गरेको उनको गुनासो छ ।
स्थानीय तहले भने सिमाना विवादको विषयमा जिल्ला समन्वय समितिको अधिकार रहने भएकाले आफूहरुले केही बोल्न नसकेको बताएका छन् । पोरखे लेक पहिलेका पुर्खाले पानीढलोको सिमाना गर्ने भएकाले नगरपालिकाले पनि त्यही पुरानै सिमाना कायम गर्ने खोजेको बडीमालिका नगरपालिकाका उपप्रमुख कविता विष्टले बताए ।
बडीमालिका नगरपालिका–७ ढम्कनेका स्थानीयवासीले पनि पहिलेदेखि सो क्षेत्रको पोरखेगढीसम्म आफूले नै भोगचलन गर्दै आएको र पोरखेसम्म नै कालाजग्रा सामुदायिक वनका नाममा सामुदायिक वन नवीकरण गरी भोगचलन गर्दै आएको वडा नं ७ का वडाध्यक्ष धर्मराज पाध्यायले प्रष्ट्याए ।
बडीमालिका नगरपालिकाले पर्यटकीय क्षेत्र पोरखेको प्रवद्र्धनका लागि २०७५ फागुन महीनामा गन्तव्य पोरखे भनी कार्यक्रम सञ्चालन गर्यो । सोही बेला नगरपालिकाले बडीमालिका नगरपालिका पाश्र्वचित्र झल्किने गरी साइन बोर्ड राख्यो तर सोही समयमा बूढीनन्दा नगरपालिका र बडीमालिका नगरपलिकाबीच निकै विवाद भयो । यहाँसम्म कि दुवै क्षेत्रका बासिन्दाको आपसमा हातहालसमेत भयो ।
त्यो बेला जिल्ला समन्वय समितिका नरेन्द्र रोकायाले पछि बसेर विवाद समाधान गर्ने भनेपछि एक वर्षसम्म त्यो विवाद देखिएको थिएन् । पछिल्लो समय वनको सिमानाको विषयलाई लिएर दुबै वडाका स्थानीयवासीमा विवाद हुँदै आएको छ । सरकारी निकाय मालपोत तथा नापी कार्यालय यस विषयमा निकै मौन देखिन्छ ।