विप्लवले केन्द्रीय सदस्यबाट हटाएको भोलिपल्टै गुणराज लोहनीलाई प्रहरीले गर्यो गिरफ्तार

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका निवर्तमान केन्द्रीय सदस्य गुणराज लोहनीलाई प्रहरीले गिरफ्तार गरेको छ । सोमबार मात्र सो पार्टीका महासचिव विप्लवले जारी गरेको विज्ञप्तिमा लोहनीको स्वास्थ्यमा समस्या आएको भन्दै आरामका लागि भनेर केन्द्रीय सदस्यको जिम्मेवारीबाट अलग गरिएको बताएका थिए ।

पार्टीको केन्द्रीय समितिबाट अलग गरिएका लोहनीलाई के कति कारणले गिरफ्तार गरिएको हो भन्ने खुलाइएको छैन । जनयुद्दकालदेखि नै माओवादी राजनीतिमा शिक्षक संगठनको केन्द्रीय अध्यक्ष लगायतका जिम्मेवारी निर्वाह गर्दै आइरहेका लोहनी विप्लव नेतृत्वको नेकपा गठनपछि पार्टीको केन्द्रीय समितिको साथै आन्तरिक प्रकाशन रातो खबरको निर्देशकको भूमिकामा थिए ।

बिगतमा माओवादी पार्टी भित्रका अन्तरबिरोधमा समेत विवादमा नमुछिने नेता लोहनी साझा खालको राजनीतिक छवी भएका नेता मानिन्छन् । लोहनीलाई मंगलवार बिहान सादा पोसाकमा खटिएका प्रहरीले चितवनबाट पक्राउ गरेको पारिवारिक स्रोतले जनाएको छ । अहिलेसम्म राजधानीमै खुल्ला हिडिरहेका लोहनीलाई प्रहरीले गिरफ्तार नगर्नु तर पार्टीको केन्द्रीय सदस्यबाट हटाए लगत्तै गिरफ्तार गरिनुलाई पनि अर्थपूर्ण रुपमा लिइएको छ । राजनीतिक निर्देशनमै प्रहरीले गिरफ्तार गरेको हो भन्ने यसले देखाएको छ । उनी लामो समयदेखि मायोस्थेसिया भन्ने रोगबाट पीडित छन् । चितवनमा रहेर लामो समयदेखि उपचार गराइरहेका लोेहनी उपचारका लागि भारतमा पनि बेलाबेलामा गइरहनुपर्ने उनको पारिवारिक स्रोतले जनाएको छ । लामो समय शिक्षक आन्दोलनको नेतृत्व गरेका उनी पछिल्लो समय रातोखबरमार्फत मिडियाको भूमिकामा पनि थिए । उनले यस क्रममा रातोखबरका लागि धेरैपटक विप्लवको अन्तर्वार्ता पनि लिएका थिए । 

लोहनी सरकार र विद्रोही नेकपालाई संवादमा ल्याउने प्रयासमा लागेको पनि कुरा बाहिर आएको थियो । यसअघि सरकारी वार्ता टोलीका संयोजक मानिएका नेकपाका नेता सोम पाण्डेले पनि विप्लवसँग वार्ता गर्न गुणराज लोहनीलाई सम्पर्क सुत्र मानेको खुलासा गरेका थिए ।

सरकारले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाउनुका साथै ब्यापक धरपकड र गिरफ्तारीलाई बढवा दिएको छ । हालै मात्र बैठक बसिरहेका बेला प्रहरीले नेपाल-भारत सीमा नाका अन्तर्गत दाङको राजपुर गाउँपालिका वडा नं ४ को मुग्रेटा खोलाबाट नेकपा उच्चस्तरीय नेतासहित २१ जनालाई गिरफ्तार गरेको थियो ।

प्रहरीले पार्टीका मध्यपश्चिम कमाण्ड इन्चार्ज तथा विप्लवका दाई चन्द्रबहादुर चन्द ‘बिरजंग’, पार्टीको राप्ती ब्युरो इन्चार्ज तथा केन्द्रिय सदस्य केश बहादुर बाठा मगर ‘सुवास’सहित राप्ती ब्युरोका न्याय विभाग समिति जिल्ला संयोजक रामबहादुर थापा (सुन्दर), कार्यालय सचिव सविन पोख्रेल, जिल्ला इञ्चार्ज यमलाल कटुवाल (विक्रम), जिल्ला सेक्रेटरी प्रदीप वली, युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष पाटन, जंगली, सुनिल पौडेल र क्षेत्र नं. ४ इञ्चार्ज एवं जिल्ला जनपरिषद् सदस्य एकराज चौधरीलाई प्रहरीले गिरफ्तार गरेको थियो ।

यस्तै त्यस्तै, क्षेत्र नं. १ इञ्चार्ज एवं राजपुर गाउँपालिका सेक्रेटरी धनबहादुर बोहोरा (महान), तिलक पुन, दलित राष्ट्रिय मुक्ति मोर्चाका जिल्ला अध्यक्ष सुरज विक, सदस्य हितप्रसाद रोका, पोष्टमान घर्ती, दलबहादुर घर्ती, अमित घर्ती मगर, बालकृष्ण शर्मा, जीत क्षेत्री, रमेश आचार्य, कुलबहादुर वली र विष्णु थापा पनि गिरफ्तार परेका थिए ।

Loading...