काठमाडौँ, ४ कात्तिक । पुराण वाचन गर्ने व्यासहरुलाई शास्त्रीय मर्यादाअनुरुप सङ्गठित गर्ने उद्देश्यले कथावाचकको पहिलो सम्मेलन आयोजना गरिने भएको छ । हाल हप्तैपिच्छे देशका विभिन्न स्थानमा श्रीमद्भागवतलगायत पुराण वाचन भइरहेको हुन्छ । घर घरमा व्यक्तिगत रुपमा मात्र सामाजिक रुपमा अस्पताल, विद्यालय, महाविद्यालय, सडक, पुललगायत संरचना निर्माणका लागि आर्थिक सहयोग जुटाउनसमेत पुराण कथावाचन हुने गरेको छ ।
यसरी वाचन गरिने पुराण शास्त्रीय मर्यादा विपरीत भइरहेको भनी सार्वजनिक टिप्पणी हुन थालेपछि हिन्दू जागरण नेपालले व्यास सम्मेलन आयोजना गर्न लागेको अध्यक्ष रामकृष्ण उपाध्यायले जानकारी दिए । कात्तिक ८ गते पशुपति क्षेत्रमा आयोजना गरिने उक्त सम्मेलनमा ३०० भन्दा बढी कथावाचाक सहभागी हुने उनले बताए ।
कार्यक्रममा नेपाल पञ्चाङ्ग निर्णायक समिति, सनातन विद्वत् परिषद् नेपाललगायत संस्थाका विद्वानको पनि सहभागिता रहने छ । व्यक्ति व्यक्तिले जे मन लाग्यो त्यही गर्दा शास्त्रको वचनअनुरुप काम हुन नसकेपछि एकरुपता ल्याउन सम्मेलन आयोजना गरिएको हो । गुरु र शुक्र अस्त भएका बेला एवम पितृ पक्षमा समेत कथावाचन भएको भन्दै कथावाचकको आलोचना हुँदै आएको थियो ।
शास्त्रले निर्देश गरेअनुरुपका दायित्वमा कथावाचक व्यासलाई हिँडाउनु नै सम्मेलनको मुख्य उद्देश्य रहेको आयोजक संस्थाले जनाएको छ । मुख्यरुपमा यस क्षेत्रमा आएका विकृति रोक्न सम्मेलन सहयोगी हुने विश्वास गरिएको छ । कार्यक्रममा इतिहास पुराण एवम धर्मशास्त्रका विद्वानले कथावाचकलाई मार्ग निर्देश गर्नुहुने बताइएको छ ।