आधुनिक कृषि फार्ममा ढकमक्क सयपत्री

 गलेश्वर, ४ कात्तिक । हिमाली जिल्ला म्याग्दीमा पहिलो पटक हरियाली गु्रपले शुरु गरेको सयपत्री फूलको व्यावसायिक खेती सफल भएको छ । जिल्लाको बेनी नगरपालिका–४ सिङ्गा र आगेबगरमा रु छ करोडको लगानीमा हरियाली गु्रपले सञ्चालन गरेको नयाँ मोडलको आधुनिक कृषि फार्ममा यतिबेला ढकमक्क फुलेका सयपत्री फूलले वातावरण नै सुन्दर बनाइदिएको छ ।

सो फार्ममा तरकारीखेती, माछापालन, मौरीपालन, फूल र ‘ड्रागन फ्रुट’ सिउँडी फल को व्यावसायिक खेती शुरु गरेको हरियाली गु्रप सञ्चालक समितिका सदस्य तथा २ नम्बर फिल्डका इञ्चार्ज केदार पौडेलले जानकारी दिए । नजिकिँदै गरेको तिहारलाई लक्षित गरेर पहिलोपटक छ रोपनी जग्गामा तीन हजार ५०० वटा सयपत्री फूलका बिरुवा लगाइएको र ती फूलका बोटमा अहिले ढकमक्क फूल फुलेका छन् । फूल लगाएको ठाउँको माथिल्लो भागमा सेरेना जातका १०० घार मौरी रहेका छन् ।

यहाँको फूलको माग सदरमुकाम बेनीलगायत म्याग्दीका विभिन्न क्षेत्रमा नै खपत हुने गरेको छ । त्यसैगरी, म्याग्दीमा कतै नगरिएको ‘ड्रागन फ्रुट’ का १०० बिरुवा पनि लगाइको तरकारी फिल्डका इञ्चार्ज बुद्धि सुनारले जानकारी दिए ।

कृषिको आधुनिकीकरण, व्यवसायीकरण, रोजगारी सिर्जना, उत्पादन र कृषकको आम्दानी बढाउने उद्देश्य राखिएको यो फार्मलाई ‘हरियाली ग्रुप’ र अवधारणलाई ‘हरियाली मोडल’ नाम दिइएको छ । यो म्याग्दी जिल्लामा हालसम्मकै ठूलो कृषि परियोजना हो ।

“विश्वमा सफल मानिएका दक्षिण अफ्रिकाको सामूहिक खेती ‘टिम्बाली’ र भारतका दूध उत्पादक कृषकको ‘आमूल’ मोडललाई पछ्याउँदै सोही मोडललाई समावेश गरी फार्म सञ्चालन गरिएको फार्मका सञ्चालक एवं फिल्ड इञ्चार्ज पौडेलले बताए।” पौडेलका अनुसार यो फार्म म्याग्दीका लागि पाइलट प्रोजेक्ट हो ।

“कृषिमा देखिएको लगानी, बजार र श्रमिक अभावको समस्या हट्ने, उत्पादन बढ्ने र आयात घटाउन देशका अन्य ठाउँमा पनि यो मोडल विस्तार गर्न लागिएको छ”, पौडेलले भने, “यसबाट स्थानीयलाई रोजगारी तथा फूल, तरकारी र मासुमा जिल्लालाई आत्मनिर्भर बनाइ बाहिरी जिल्लामा निर्यात गर्ने उद्देश्य रहेको छ ।”

कूल ३६ जना कृषकको १६० रोपनी जग्गा १५ वर्षका लागि भाडामा लिएर चक्लाबन्दी गरिएको छ । कृषकलाई अधिकतम उत्पादन हुँदा प्राप्त हुने बराबरको भाडा छ/छ महीनामा अग्रिम भुक्तानी दिने गरिएको कम्पनीका प्रबन्ध निर्देशक शेरबहादुर केसीले बताए । निकट भविष्यमा नै बोयर जातका बाख्रा र वनजन्य पक्षी कालीज पालन गर्ने तयारी गरिएको छ ।

कम्पनीले सञ्चालन गरेको कृषि फार्ममा कार्यरत ३२ जना कर्मचारी तथा मजदूरमध्ये अधिकांश जग्गाधनी छन् । जग्गाको भाडासँगै रोजगारी पाउनुका साथै खडेरी, मल–बीउ, कृषि मजदूर, लगानी अभावको समस्याबाट कृषकले मुक्ति पाएको जग्गाधनी भगवान खड्काले बताए ।

“बजार नजिक, सडक सुविधा, अनुकूल हावापानी र ठूलो फाँट भए पनि खण्डीकृत जमीन, थोरै परिणाममा हुने उत्पादन र उचित मूल्य नपाउने, सिँचाइको अभावले कृषि जीविकोपार्जनमा सीमित थियो”, खड्काले भने, “समूहकृत खेती शुरुआत भएपछि अवस्था फेरिएको छ ।”

म्याग्दी खोलाबाट विद्युतीय उपकरणको प्रयोग गरी लिफ्ट प्रविधिबाट पानी तानेर सिँचाइको व्यवस्था मिलाइएको छ । बाह्रै महीना नियमित खेती गर्न सकिने भएको छ । सात वटा पोखरीमा २७ हजार रघु, नैनी, ग्रास र कमनकार्प जातका माछा पालिएको छ ।

मासु र अण्डाका लागि छुट्टाछुट्टै ठाउँमा २२ हजार ब्रोइलर र लेयर्स जातका कुखुरा पालिएको छ । सय घारमा माहुरी पालिएको र सय रोपनी खुला जमीन र सामान्य टनेलका अतिरिक्त आधुनिक हाइटेक प्रविधिको प्लास्टिक घरभित्र तरकारी लगाइएको छ । रु ४० लाख बराबरको मासु, तरकारी, माछा, मह र माहुरी बिक्री भइसकेको पौडेलले जानकारी दिए । कम्पनीमा आबद्धबाहेक अन्य साना कृषकले पनि कम्पनीको मापदण्ड र गुणस्तरअनुसारको उत्पादन गरेमा बजार व्यवस्थापनमा सघाउने जनाइएको छ ।