काठमाडौं, ३ कात्तिक। भाइटीकाको भोलिपल्ट अर्थात १३ कात्तिकमा पनि सार्वजनिक बिदा दिन प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक देखिएका छन् ।
नेवारी समुदायको भाइटीका १३ कात्तिकमा पनि पर्ने भन्दै प्रधानमन्त्रीलाई बिदा दिन आग्रह गर्दै डेलिगेसन गएको एउटा टोलीसँग प्रधानमन्त्री ओलीले मनन्त्रिपरिषद्बाट निर्णय गराएर बिदा दिन आफू सकारात्मक बनेको बताएका छन् ।
पञ्चाङ्ग निर्णायक समितिको निर्णय अनुसार तिहारमा सरकारले कात्तिक १०, ११ र १२ गते मात्र बिदा दिने निर्णय गरेपछि संघीय सांसद कृष्णगोपाल श्रेष्ठ, प्रदेश ३ का सांसदहरू डा। अजयक्रान्ति शाक्य, राजेश शाक्य, काठमाडौं महानगरपालिका वडा नम्बर २२ का अध्यक्ष चिनीकाजी महर्जनलगायतको टोलीले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर १३ कात्तिक मा पनि बिदा दिन आग्रह गरेको थियो । भेटमा प्रधानमन्त्री केपी ओली सकारात्मक बनेका छन् ।
‘बडादशैं, दिपावलीजस्ता महान् पर्वको आ–आफ्नै खालको संस्कृति र परम्परा रहिआएको छ,’ प्रधानमन्त्री ओलीसँग भेट गरेर फर्किएका सांसद श्रेष्ठले भने, ‘हामीले आज प्रधानमन्त्रीज्युलाई पञ्चाङ्ग समितिले घडी, पला मिलाएर विजया दशमी, भाइटीकालगायतका चाड–पर्वको साइत निकाल्दा नेवाः समुदायको मौलिक संस्कृति र परम्परालाई असर गर्ने गरेको छ । त्यसैले भाइटीका (किजापूजा) पनि त्यस्तै हुने भयो । कात्तिक १३ मा पनि विदा चाहिन्छ भन्ने जानकारी गरायौं । उहाँ सकारात्मक हुनुभयो ।’
प्रधानमन्त्री ओलीले सरकारी क्यालेण्डर अनुसार १३ कात्तिकमा बिदा उल्लेख नभएकाले यसलाई मन्त्रिपरिषदबाटै निर्णय गर्ने आश्वासन दिएको श्रेष्ठले जानकारी दिए ।
प्रदेश सांसद डा शाक्यका अनुसार ‘नेवाः समूदायको परम्परा अनुसार अहिले १२ कात्तिकमा भाइटिका मान्नै नसकिने भएकाले विदाका विषयमा पुनर्विचार गर्ने प्रधानमन्त्रीसँग आग्रह गरिएको र प्रधानमन्त्रीले ढुक्क हुन भनेको जानकारी दिए ।
शाक्यका अनुसार नेवाः समुदायको परम्पराअनुसार नेपाल संवतको नयाँ वर्ष ११४० कात्तिक १२ गते सूर्योदयसँगै मनाउने र बेलुका म्हपूजा गर्ने चलन छ ।