यसरी जारी राखिएको छ वाग्मती सफाइ अभियान

काठमाडौँ, २ कात्तिक । उपत्यकाका नदी र चक्रपथ सफाइ अभियान प्रत्येक हप्ता शनिबारझैँ आज पनि जारी रह्यो । वाग्मती सफाइ महाअभियानको ३३६औँ हप्तामा त्रिपुरेश्वर पुलमुनिको नदी क्षेत्रमा सफाइ गरियो ।

पन्ध्र संस्थाका ३०० भन्दा बढी अभियानकर्मीको सक्रियतामा भएको सफाइबाट छ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य माला खरेलले जानकारी दिए । सफाइमा अधिकारसम्पन्न वाग्मती समिति अध्यक्ष नरेन्द्रराज बस्नेत, आयोजना प्रमुख लीलाप्रसाद ढकाल, काठमाडौँ महानगरपालिका–११ का अध्यक्ष हीरालाल तण्डुकारलगायत अभियानकर्मी सक्रिय भएका थिए ।

वाग्मती सफाइ महाअभियान शुरु भएको छ वर्षसम्म पनि उपत्यकाको मध्यभाग भएर वाग्मतीमा मिसिने इच्छुमती (टुकुचा) सफाइ शुरु हुन नसकेकाले फोहर बढेको स्थानीयवासीको गुनासो छ । वडाध्यक्ष तण्डुकारले टुकुचा सफाइ अभियान पनि शुरु गर्न पहल भइरहेको बताए ।

विसं २०७० जेठ ५ गते शनिबारदेखि वाग्मती सफाइ महाअभियान शुरु भएको थियो । वाग्मती सफाइ अभियान शुरु भएपछि यसका सहायक नदी र चक्रपथ सफाइ अभियान पनि आरम्भ भएको हो । उपत्यकाबाट शुरु भएको सफाइ अभियानले हाल देशव्यापी स्वरुप ग्रहण गरिसकेको छ । देशभर हाल १०५ भन्दा बढी स्थानमा सफाइ भइरहेको छ ।

चक्रपथ उत्तरखण्ड सफाइको १३३औँ हप्तामा नयाँबसपार्क पुलबाट ग्रिनसिटी अस्पतालसम्म सफाइ गरी १० टन फोहर व्यवस्थापन गरिएको संयोजक लोकबहादुर टण्डनले जानकारी दिए । सफाइमा अष्टे«लियाका लागि नेपाली राजदूत महेश दाहाल, ८० वर्षीय ज्येष्ठ नागरिक तोयनाथ पौडेललगायत २५० भन्दा बढी अभियानकर्मी सक्रिय थिए । अर्को हप्ता शनिबार ज्येष्ठ नागरिक पौडेलले लेखेको पुस्तक ‘चेतनामृत’ विमोचन गर्ने कार्यक्रम रहेको सफाइ अभियानले जनाएको छ ।

यसैगरी आज उपत्यकाका गुह्येश्वरीमाथिको वाग्मती, रुद्रमती, विष्णुमती, मनोहरा, वाग्मतीको तिलगङ्गा, सुन्दरीघाट र गुह्येश्वरी खण्ड, चक्रपथको पश्चिम खण्ड, ललितपुरको गोदावरी खोलालगायत स्थानमा पनि सफाइ अभियान सञ्चालन गरिएको थियो ।

Loading...