राजकुमारको हत्या गर्ने सञ्जय पक्राउ

परासी, १ कात्तिक । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ बेल्वानीका ३५ वर्षीय राजकुमार बाँसफोरको हत्या आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उनकै आफन्त प्रतापपुर गाउँपालिका–६ का २१ वर्षीय सञ्जय डोम रहेका छन् ।

राजकुमारको शव मङ्गलबार प्रतापपुर गाउँपालिकाको गुठीप्रसौनीस्थित नहरको पानीमा घोप्टो परेको अवस्थामा फेला परेको थियो । उनको हत्या भएको आशङ्कामा प्रहरीले अनुसन्धान गरिरहेको थियो । घटनास्थल नजिकै भारतीय नम्बरप्लेटको मोटरसाइकल, घडी, रगत र मोबाइल फेला परेको थियो ।

मृतकको टाउको, आँखा र हातमा चोट लागेको छ । पक्राउ परेका डोमले हत्या गरेको स्वीकार गरेको प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए। सोमबार राति दुवै पक्षबीच सामान्य कुरामा वादविवाद भएपछि आफूले धारिलो हतियार प्रयोग गरी हत्या गरेको डोमले बयान दिएका छन् ।

युवकको विभत्स हत्या

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–५ गुन्सामा गए राति एक युवकको विभत्स हत्या गरिएको छ । पाँचपोखरी थाङ्पालगाउँपालिकाका विजय गोलेको हत्या भएको इलाका प्रहरी कार्यलय मेलम्चीका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए ।

हत्यामा संलग्न सोही गाउँपालिकाका २३ वर्षीय मिलन स्याङ्बो र २४ वर्षीय बमबहादुर स्याङबो फरार छन् । उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी माधवप्रसाद काफ्लेले जानकारी दिए। शव परीक्षणका लागि मेलम्ची ल्याइएको छ । बिहीबार दिउँसो उनीहरुबीच सामान्य विवाद भएको प्रहरीले जनाएको छ । घटनाबारे अनुुसन्धान भइरहेको छ ।

Loading...