घुस खाएको आरोपमा भक्तपुरका नापी सर्भेक्षकद्वय माथि मुद्दा दायर

नापी कार्यालय भक्तपुरमा कार्यरत नापी सर्भेक्षक सिद्धराज जोशी र वीरभद्र जोशी उपर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोप पत्र दायर गरेको छ ।

जग्गा हालसाविक गर्न नापी कार्यालय भक्तपुरबाट तोक आदेश भई फिल्ड नाप जाँच गर्ने क्रममा फिल्ड खर्च भनी सेवाग्राहीसँग घुस/रिसवत रकम सहित नियन्त्रणमा परेका उनीहरु उपर बिहीवार विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको हो ।

अनुसन्धानको सिलसिलामा सर्भेक्षक  सिद्ध राज जोशी र सर्वेक्षक वीरभद्र जोशीले एकआपसको मिलेमतोमा नियमानुसार गर्नुपर्ने काममा आलटाल गरी विभिन्न बहाना बनाई, आफूले गर्नुपर्ने कामको लागि सेवाग्राहीसँग घुस रकम माग गरी लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको सप्रमाण पुष्टि हुन आएकोले आरोप पत्र दायर गरिएको अख्तियारको भनाई छ ।

सर्भेक्षकद्वय सिद्ध राज जोशी र वीरभद्र जोशीलाई विगो रू आठ हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय खण्ड (क) बमोजिम जरिवाना र कैद सजाय हुन मागदावी लिई बिहीवार विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी गराए ।

Loading...