नेपालगन्ज, २७ असोज । बाँकेको खजुरा गाउँपालिका–२ सीतापुरस्थित सचेत युवामञ्च सामाजिक अराजकता र लागुऔषधविरुद्ध प्रहरीसँग सहकार्य गरेर अगाडि बढ्ने भएको छ ।
सामाजिक अराजकता र लागुऔषधविरुद्ध बृहत् कार्ययोजना बनाएर प्रहरीसँग सहकार्य गरिएको मञ्चका अध्यक्ष मनप्रकाश रेग्मीले बताए । अभियानअन्तर्गत मञ्चले आज राधापुर प्रहरी चौकी र खजुरा गाउँपालिका–२ कार्यालयको सहकार्यमा शान्तिसुरक्षा कायम गर्न सरोकारवालासँग बृहत् अन्तरक्रिया गरेको छ ।
कार्यक्रममा सांसद नन्दलाल रोकायले समाजमा अराजकता बढेको भन्दै यसलाई नियन्त्रण गर्न नसके व्यवस्थामाथि खतरा आउनसक्ने जिकिर गरे। जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले प्रहरी र नागरिकबीचको सहकार्यबाट कुनै पनि अपराध नियन्त्रण गर्न सकिने बताए ।
उनले लागुऔषध नियन्त्रणका लागि स्थानीयस्तरबाट कसैले हस्तक्षेप नगर्ने प्रतिबद्धता आए १५ दिनभित्र खजुरा क्षेत्रबाट लागुऔषध नियन्त्रण गर्ने दाबी गरे । कार्यक्रममा खजुरा क्षेत्रका विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक अगुवा, शिक्षक लगायतको सहभागिता रहेको थियो ।